अवैध व्यापार तत्काल नियन्त्रण गर्न गृहमन्त्री लामिछानेलाई चेम्बरको आग्रह
News Desk
Jan-05 , 2023 तारिख 07:22 बिहान

 


खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न नेपाल चेम्बर अफ कमर्सले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएको छ ।
गृहमन्त्री लामिछानेसँग बुधबार भएको भेटवार्तामा चेम्बर पदाधिकारीको टोलीले सीमामा हुने अनधिकृत व्यापार नियन्त्रणका लागि आग्रह गरेको हो । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए ।
‘नेपाल-भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबार भइरहेको छ । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्वसमेत गुमाइरहेको छ,’ मल्‍लले भने । चेम्बरले गृहमन्त्री लामिछानेलाई दिएको सुझावमा भनिएको छ, ‘खुला सीमा भएकाले अनियन्त्रित रूपमा अनधिकृत व्यापार फस्टाएको  छ । यसबाट राजश्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरूले प्रतिस्पर्धा गर्नसमेत नसकिरहेको परिस्थिति रहेकाले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनुपर्छ ।’
नेपाल-भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्ने बताए  । 

चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्नेसहित विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ । वैदेशिक रोजगारबाट फिर्ता हुने युवाको सीपसम्बन्धी सम्पूर्ण विवरण संकलन गरी उनीहरूको सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण मिलाउनसमेत चेम्बरले आग्रह गरेको छ । 
नेपालमा पछिल्लो समय बैंकिङ सफ्टवेयर ह्याक हुने, एटीएमबाट अनधिकृत रूपमा पैसा चोरी हुने लगायतका वित्तीय अपराधका घटना वृद्धि भइरहेकाले यसको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नसमेत चेम्बरले गृहमन्त्री लामिछानेलाई आग्रह गरेको छ । 
गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ छ । कानुनको उल्लंघन नहुने हदसम्मका लागि व्यवसायिक वातावरण बनाउन आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेले बताए ।

धेरै पढिएको