सडकमा जथाभावी फोहोर फाल्ने वीरगञ्जका २ वटा वित्तीय संस्थालाई जरिबाना
News Desk
Jan-10 , 2023 तारिख 10:48 बिहान

 

वीरगञ्ज - सडकमा जथाभावी फोहोर फाल्ने वीरगञ्जका २ वटा वित्तीय संस्थालाई सोमबार जरिबाना तिराईएको छ । 
वीरगञ्जलाई सफा, सुन्दर बनाउनका लागि जथाभावी फोहोर फाल्नेलाई कारबाही अभियान अघि बढाएको महानगरले सोमबार २ वटा वित्तीय संस्थालाई कारबाही स्वरुप जरिबाना तिराएको हो । 
महानगरले लिंक रोडमा रहेको कृषि विकास बैंकलाई १ हजार रुपैयाँ र गगन बचत तथा ऋण सहकारी संस्थालाई २ हजार ५ सय रुपैयाँ जरिबाना तिराईएको महानगरका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।
पहिले सचेत गराउँदै आए पनि फोहोर जथाभावी फाल्न नछाडेपछि कारबाही गर्न लागिएको हो ।  
यस अघि महानगरले कुमारी बैंक तथा अन्य २ वटा पसललाई जरिवाना तिराई सकेको छ । 
महानगरले नगर हरियाली र सफा बनाई राख्न अहिले सडक, नाला तथा फुटपाथमा राखिएका निर्माण सामग्री तथा भौतिक संरचना हटाउने र फोहोर व्यवस्थापन गर्ने अभियान नै चलाईरहेको छ । 
वीरगञ्जलाई सफा, स्वच्छ र हराभरा बनाउन सबैको सहभागितामा मात्रै संभव रहेकाले यसलाई अटेर गर्दै फोहोर गर्नेलाई कारबाही गरिने महानगरले चेतावनी दिएको छ । 
सडकमा जथाभावी फोहोर गरेको भेटिए जो कोहीलाई पनि कारबाही गरिने गरी संयन्त्र परिचालन गरिएको छ । 
महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निर्वाचित भएर आएसँगै नगर हरियाली र सरसफाईलाई प्राथमिकता दिँदै अभियान चलाइरहेका छन् ।

धेरै पढिएको