शैक्षिक संस्थाहरुको सार्वजनिक विदा कटौती गर्न विद्यार्थीहरुले गरे माग
News Desk
Jan-31 , 2023 तारिख 02:28 बिहान

 


वीरगञ्ज - शैक्षिक संस्थाहरुको सार्वजनिक विदा कटौती गर्न वीरगञ्जको एक विद्यालयका विद्यार्थीहरुले माग गरेका छन् । वीरगञ्जको ब्रह्मचौकस्थित ममता विद्या मन्दिरका विद्यार्थीहरुले सार्वजनिक विदा कटौती गर्नुपर्ने माग गरेका हुन् । 

सार्वजनिक विदा धेरै हुँदा पठनपाठन प्रभावित भएको भन्दै त्यस विद्यालयका विद्यार्थीहरुले सोमवार शान्ती पदयात्रा निकालेका छन् । शैक्षिक संस्थाको सार्वजनिक विदा कटौती गर्न सरकारलाई ध्यानाकर्षण गराउँदै विद्यार्थीहरुले वीरगञ्जको घण्टाघरदेखि मुर्ली हुँदै ब्रह्मचौकस्थित विद्यालयसम्म ब्यानर बोकेर शान्ति पदयात्रा निकालेका हुन् । 

सार्वजनिक विदाको नाममा सरकारले विद्यार्थीको पठनपाठनलाई प्रभावित बनाइरहेको सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा क्रिस्टिना चौधरीले बताइन् । विदाले गर्दा समयमै पाठ्यक्रम पनि नसकिने कक्षा ७ का छात्र रवी रामले बताए । 

कक्षा ६ कै छात्र संस्कार दासका अनुसार सार्वजनिक विदालाई कम गर्नुपर्छ । विभिन्न चाडवाडसहित अन्य अवसरमा पनि शैक्षिक संस्थामा सार्वजनिक विदा दिँदा पठनपाठन प्रभावित हुने गरेको विद्यार्थीहरुको गुनासो छ । 

सरकारले नै हिउँदे, वर्षेसहित ४५ दिन र स्थानीय बिदा ५ दिन दिने व्यवस्था गरेको छ । शिक्षा नियमावलीअनुसार १ वर्ष (३६५ दिन) मा २ सय २० दिन अनिवार्य विद्यालय खुल्नुपर्ने र १ सय ८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था भएपनि कार्यन्वयन हुन सकेको छैन । 

विद्यार्थीहरुको माग सकारात्मक रहेको भन्दै विद्यालयका प्रबन्ध निर्देशक बिश्वासप्रताप साहले पनि समर्थन जनाएका छन् । विभिन्न विदाका कारण पाठ्यक्रम नै नसकिदा समस्या भएको हुँदा विदा कटौती हुनुपर्ने विद्यालयका प्रधानाध्यापक काशी प्रसाद चौधरीले बताए ।