News Desk
काठमाडौं । फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाईदै छ । आयोडिनयुक्त नूनको प्रवर्द्धन तथा यस सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल सरकारको तत्वावधानमा एक महिना अवधिसम्म विविध कार्यक्रम गर्दै आयोडिन मन्थ कार्यक्रम मनाउन लागिएको हो । आयोडिनको कमीबाट हुने विकृति निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप देशैभर कार्यक्रम गरिने भएको छ । सन् २०२३ फेब्रुअरी महिनामा आयोडिन सम्बन्धी जनचेतना जगाउन नुन खाउँ, सही मात्रामा खाउँ, दुई वालवालिकाको चिन्ह अंकित आयोडिनयुक्त नून नै खाउँ भन्ने नारालाई साकार तुल्याउने गरि गरिदैछ । अभियान २०७९ माघ १८ गते (तदअनुसार ०१ फेब्रुवरी २०२३) देखी शुरु भई १ महिनासम्म संचालनमा रहने छ ।
यूनिभर्सल साल्ट " आयोडाइजेशन (युएसआई) को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई "आयोडिन मन्थ" घोषणा गरी आयोडिन सम्बन्धी चेतना मूलक गतिविधि संचालन गरिदै आईएको छ ।
आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये सन १९८६ मा ४४.२ प्रतिशत गलगाँडको समस्या रहेकोमा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न गई सो हाल समुदायमा देखिएको छैन । नेपाल सरकारले दिएको निर्देशन अनुसार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष्य अनुरूप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घर संख्या शतप्रतिशतमा पुर्याउने लक्ष्य लिएकोमा सन् २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ । सन २०१६ मा नेपाल सरकारले गरेको एनडिएचएस सर्वे अनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नून उपभोग गरेको पाईएको छ । अतः यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको छ
आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जनचेतनामूलक कार्यक्रमहरुबाट जानकारी दिन शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी तथा जनसमुदायहरुलाई क्रमशः स्वास्थ्य चौकिहरुमा कार्यक्रम, विद्यालयमा कार्यक्रम, हाटबजारमा माईकिङ्ग, चेतनामूलक सामग्री वितरण, प्रदर्शनी कक्ष राख्ने, जस्ता गतिविधि महिनाभरी संचालन गर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि. ले जनाएको छ ।
नेपाल सरकारले विगत ५९ वर्ष देखी साल्ट ट्रेडिङ कर्पोरेशन लि. लाई देशभर आयोडिनयुक्त नूनको आपूर्तिको जिम्मेवारी दिएको छ । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लि.ले ग्रामीणस्तरसम्म आयोडिन सम्बन्धी चेतनामूलक गतिविधिका साथै दुईवालवालिका चिन्ह अंकित पाकेट नून सुलभ मूल्यमा बिक्री वितरण तथा जनचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
आयोडिन मन्थमा आयोडिन सम्बन्धी चेतनामूलक सन्देश लेखिएको सपिङ्ग झोला, स्कुल झोला, टी-सर्ट तथा पम्पलेट जस्ता सामग्री बितरण गर्न विभिन्न विद्यालय तथा हाट बजारमा टोली खटाईने छ र उक्त अवसरमा आयोडिनको महत्वबारे जनचेतना जगाउन कार्यक्रम संचालन गर्न लागेको छ ।