News Desk
वीरगञ्ज - वीरगञ्जस्थित साउथ जोन सेकेण्डरी स्कूलले एकजना आगलागी पिडितलाई आर्थिक सहयोग गरेको छ । बुधबार १४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रमका विच आगलागीबाट घाइते भएकी महिलालाई स्कूलले आर्थिक सहयोग गरेको हो । स्कूलका प्रधानाध्यापक सरोज चौधरीले आगलागीबाट घाइते भएकी बाराको कलैया-६ मदरसाटोल निवासी मञ्जू देवी बनियालाई उपचार खर्च वापत ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
चौधरीले सामाजिक अभियन्ता प्रकाश थारु, सञ्चारकर्मीद्वय जगत राई र नेहाल खानलाई रकम वापतको चेक हस्तान्तरण गरेका थिए । मञ्जू देवी लगभग एक महिना अगाडि आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् । आर्थिक आभावका कारण उनको उपचारमा समस्या आइरहेको जानकारी पाएलगतै स्कूलका प्रधानाध्यापक चौधरीले उनलाई सहयोग गरेको सहयाक प्रधानाध्यापक अशोक सङ्ग्रौलाले बताए । प्राप्त रकमबाट मञ्जू देवीको उपचारमा आवश्यक औषधीलगायतका सामग्री खरिद गरिने सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।
छोटो समय भित्रै गुणस्तरीय शिक्षाको कारण वीरगञ्जमा एउटा छुट्टै नाम स्थापित गर्न सफल साउथ जोन स्कूलले समयसमयमा यस्ता परोपकारी कार्यहरु गर्दै आएको छ । सामाजिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका शहिद र घाइतेहरुको सन्तानलाई वीध्यलीले सहुलियतमा पढाउँदै आएको छ ।