सभ्य र मर्यादित ढंगले होली मनाउ : प्रहरी उपरीक्षक शाह
Devil Singh Rajput
Mar-05 , 2023 तारिख 04:51 बेलुका

वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले सभ्य र मर्यादित ढंगले होली मनाउन आग्रह गरेका छन् । हिन्दू धर्मावलम्बीहरुको ठूलो पर्व मध्येको एक फागू पूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन आग्रह गर्दै एसपी शाहले मर्यादित ढंगले मनाउन आग्रह गरेका हुन् ।

पछिल्लो समय होलीको नाममा विकृति बढेकाले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिने गरी होली मनाउन एसपी शाहको सुझाव छ । एसपी शाहले होली खेल्दा रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहोर पानिको प्रयोग नगर्न समेत आग्रह गरेका छन् । सवारी साधन तिव्र गतीमा नचलाउन, मादक पदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवार नहुन, हेलमेटको अनिवार्य प्रयोग गर्न, बाटोमा हिँड्ने व्यक्तीलाई जबर्जस्ती रंग तथा अविर नलगाउन पनि एसपी शाहले अनुरोध पनि गरेका छन् ।

त्यसैगरी अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्लिल गित नबजाउन, डिजे तथा अन्य लाउड स्पीकर चर्को साउण्डमा नबजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भाङ र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न शाहले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले चेकिंगसहित गस्तिलाई पनि जोड दिएको हुँदा अवाञ्छनीय गतिविधि नहुनेमा एसपी शाह विश्वस्त छन् ।

नेपाल प्रहरी, ट्राफिक प्रहरीसँगै सादा पोसाकमासमेत गस्ति गर्नुका साथै सिसि टिभी क्यामराबाट पनि निगरानी गरिने शाहले बताए । रंगको पर्व होलीलाई मर्यादित ढंगले मनाउन आग्रह गर्दै उनले सडकमा जाम हुने गरी कुनै पनि किसिमका कार्यक्रम नगर्न पनि संघसंस्थालाई आग्रह गरेका छन् ।

धेरै पढिएको