News Desk
काठमाण्डौं । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । बिहीबार अपराह्न सकिएको मतगणनामा पौडेलले नेकपा ९एमाले० का उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई हराउदै राष्ट्रपति निर्वाचित हुनुभएको हो।
पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गर्दै निर्वाचित हुनुभएको हो । उहाँले संघतर्फ १६ हजार ९ सय ६ र प्रदेशतर्फ १६ हजार ८ सय ९६ मतभार ल्याउ भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
राष्ट्रपति पौडेलको जीवनी
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको जन्म विसं. २००१ सालमा तनहुँको रिस्ती गाविसस्थित बाहुनपोखरामा भएको हो । उहाँ १६ वर्षको कलिलोउमेरदेखि नै राजनीतिमा लाग्नु भएको हो । ०१७ सालमा तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई राजा महेन्द्रले जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर आफु राजनीतिमा होमिएको पौडेलले बताउदै आउनुभएको छ । त्यसो त उहाँ नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा सहभागि हुनुहुन्थ्यो ।
०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसमा विद्यार्थी युनियन सभापति निर्वाचित हुनुभएको थियो । ०२४ सालमा उहाँ प्रजातान्त्रिक समाजवादी युवा लिगको महासचिवमा निर्वाचत हुनु भएको थियो । ०२७ सालमा नेपाल विद्यार्थी संघको स्थापना गर्न पौडेलले अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँ संघका संस्थापक केन्द्रीय सदस्य समेत हुनुहुन्छ । त्यस्तै ०४० सालमा पौडेल कांग्रेसको केन्द्रीय प्रचार समितिको संयोजक बन्नु भयो । ०४४ सालमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका पौडेल त्यसयता निरन्तर केन्द्रीय समितिमा हुनुहुन्छ ।
पञ्चायतको अन्त्य भई ०४६ सालमा प्रजातन्त्रको पुनस्थापनापछि पौडेल ०४८ को निर्वाचनमा तनहुँ १ बाट संसद सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसपछि बनेको सरकारमा उहाँ स्थानीय विकासमन्त्री बन्नुभयो । दोस्रोपटक ०४९ मा उहाँ स्थानीय विकास तथा कृषि मन्त्री बन्नुभयो । ०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित हुँदै प्रतिनिधिसभामा सभामुख निर्वाचित भएर ५ वर्ष सेवा गर्नुभयो । ०५६ सालमा तनहुँ २ बाट तेस्रो पटक संसद सदस्यमा निर्वाचित हुनुभयो । उहाँले ०५७ सालमा उपप्रधानमन्त्री, गृह तथा सञ्चारमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको थियो ।
पौडेल ०६२ सालमा कांग्रेस महामन्त्री बन्नुभयो । माओवादी शान्ति प्रक्रियामा आएपछि पौडेल शान्ति सचिवालयाको संयोजक पनि हुनुहुन्थ्यो । ०६३ सालमा शान्ति तथा पुनर्निमाण मन्त्री बन्नु भएका पौडेल ०६४ सालमा नेपाली कांग्रेसको उपसभापति हुनुभयो । सोही वर्ष सम्पन्न संविधानसभा निर्वाचनमा उहाँ तनहुँ क्षेत्र नं २ बाट चौथोपटक निर्वाचित हुन सफल रहनु भयो । ०६५ सालमा उहाँ नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएको थियो । ०६७ साउनबाट सुरु भएको प्रधानमन्त्रीको चुनावमा कांग्रेसबाट पौडेल उम्मेदवार बन्नु भएको थियो । यद्यपि उहाँ निर्वाचित भने हुन सक्नु भएन । ०७० मा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तनहुँ २ बाट पाचौंपटक निर्वाचित हुनुभयो उहाँ ।
२०७४ सालमा तनहुँ एकबाट पराजित उहाँ २०७९ को निर्वाचनमा भने सोही क्षेत्रबाट निर्वाचित बन्न सफल हुनुभयो । उहाँ २०७८ सालमा आठ दलिय गठबन्धनको संयोजक हुनुभएको थियो । पौडेलले पञ्चायती राजतन्त्रका विरुद्ध संघर्षका क्रममा २०१९ देखि वि.सं. २०४६ सम्म विभिन्नपटक गरी १३ वर्ष जेल जीवन बिताउनु भएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्री पास गर्नुभएको छ । श्रीमतीसहित उहाँका पाँच सन्तान छन् ।
पौडेलले प्रजातान्त्रिक समाजवादः एक अध्ययन, नेपाली कांग्रेस के भन्छ ? नयाँ सन्दर्भमा समाजवाद पुस्तक प्रकाशित गर्नुभएको छ । उहाँको छवि स्वच्छ र निष्कलंकित नेताको रहेको छ ।