प्रदेश सांसद तामाङ्को पहलमा लिसंखुमा स्वास्थ्य शिविर सम्पन्न
News Desk
Mar-10 , 2023 तारिख 04:58 बेलुका

 सिन्धुपाल्चोक । ११३ औं अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा सिन्धुपाल्चोक स्थित लिसंखु पाखर गाउँपालिका वडा नं ०२ मा ब्रिहद स्त्री रोग स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविर फाल्गुण १९ र २० गते बुद्धोदय मावि प्रांगणमा आयोजनामा आएको हो । बागमती प्रदेश सभा सदस्य माइली तामाङको सहायतासहित नेपाल सरकार स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको सहयोगमा लिसंखु महिला बचत तथा ॠण सहकारी लिमिटेडद्वारा आयोजित उक्त शिविरमा परोपकार प्रसुती स्त्रीरोग अस्पताल थापाथली काठमाडौंको प्रावधिक सहयोग रहेको थियो ।

फाल्गुण १९ गते आयोजित एक औपचारिक सभा माझबाट प्रदेश सांसद माइली तमाङले शिविरको उदघाटन गर्नुभएको थियो । सो अवसरमा सांसद तामाङ्ले शिविर संचालन गर्न आफुले गरेको मेहनतको फेहरिस्त बारे वर्णन गर्नुहुँदै उदेश्य बारे पनि प्रकाश पार्नुभयो । उदघाटन सत्र लगत्तै २ दिने शिविर विधिवत रुपले संचालनमा आएको थियो । थापाथली स्थित प्रसुती अस्पतालमा कार्यरत एक जना चिकित्सक र स्टाफ नर्स, लिसंखु पाखर स्वास्थ्य चौकीका इन्चार्ज एवम स्वास्थ्य स्वयमसेविकासहितका अन्य स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या लिएर आएका स्थानियको स्वास्थ्य परिक्षण गरेका थिए । शिविरमा निशुल्क रुपमा औषधिसमेत वितरण गरिएको थियो । २ दिनसम्म संचालित उक्त ब्रिहद स्त्री रोग स्वास्थ्य शिविरबाट किशोरी देखी ब्रिद्धा अवस्थामा पुगेका करिब १०० जना महिलाहरुले सेवा लिएका छन ।जसमा प्रत्यक्ष रुपमा लाभान्वित हुनेमा लिसंखु पाखर गाउँपालिकाका २ र ३ नं वडाबासी महिला रहेका छन् ।

त्यसो त शिविरको अन्त्यसँगै समापन कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश सांसद माइली तमाङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममाझ चिकित्सक एवम स्वास्थ्यकर्मीलाई सम्मान पत्र र अन्य सहयोगीहरुलाई कदर पत्र प्रदान गरिएको थियो । सो अवसरमा उहाँले कार्यक्रम सफल पार्न सघाउनुहुने सबैमा धन्यवाद व्यक्त गर्नुहुँदै महिला लक्षित स्वास्थ्य शिविरको आवश्यकता र औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

त्यसो त स्त्री रोग सम्बन्धी यस स्वास्थ्य शिविर निकै लाभदायी रहेको भन्दै स्थानिय बासिन्दा एवम अगुवाहरुले खुशी समेत व्यक्त गर्नुभएको छ । स्थानिय महिलाहरुको स्वास्थ्य समस्यालाई समाधान गर्नका लागि स्त्री रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर संचालन गर्न आफुले पहलकदमी लिएको प्रदेश सांसद माइली तमाङको भनाई छ । त्यसैगरि सांसद तमाङ आगामी दिनमा पनि यस क्षेत्रमा नाक कान घाटी लगायतका शिविर संचालन गरि रोगको निदानका लागि पहल गर्ने बताउनुहुन्छ ।

धेरै पढिएको