News Desk
काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गरी पाँउ भनी अधिवक्ता ज्ञानेन्द्र आरणलगायतले दर्ता गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा रिट निवेदन दर्ता भएको र सर्वोच्च अदालतबाट यस मामिलामा पटक-पटक व्याख्या भएको भन्दै पूर्ण सुनुवाईपछि मात्रै मुद्दाको कानूनी प्रश्नहरुको निरुपण हुने आदेश गरेको हो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासको आदेशमा भनिएको छ, ‘अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा अन्तरिम आदेश जारी गर्न परेन।’
तर सर्वोच्च अदालतले दुवै मुद्दालाई अग्राधिकार दिन आदेश दिएको छ । कुनै पनि मुद्दाको छिटोछरितो न्यायनिरुपण गर्नुपरेमा अग्राधिकार दिने आदेश हुन्छ । सर्वोच्च अदालतले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशितालाई आधार मानेर अग्राधिकारको आदेश गरेको हो ।