काठमाडौं । राष्ट्रिय उपभोक्ता मंचले ‘सार्वभौम उपभोक्ता र बजारको वर्तमान अवस्था’ बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । विश्व उपभोक्ता अधिकार दिवस २०२३ मार्च १५ को सन्दर्भ पारेर मंचले विहिबार राजधानीमा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै देश संघियतामा गएपनि अधिकार संघिकृत भैनसकेको अवस्था बारे प्रकाश पार्नुहुँदै राम्रो कामका लागि सरकारका सम्पूर्ण संयन्त्रले काम गर्न आवश्यक रहेको बताउनुभयो ।
सो अवसरमा सभापतिको आसनबाट बोल्नुहुँदै राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले जनस्वास्थ्यसँग खेलवाड गर्ने अधिकार कसैसँग नरहेको बताउनुहुँदै बजारमा भैरहेको अराजकता रोक्ने जिम्मेवारी राज्यको भएता पनि त्यति प्रभावकारी हुन नसकिरहेकाले ध्यान जान आवश्यक रहेको बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना वैद्यले सरकारले आफनोतर्फबाट आवश्यक कामकार्वाही गर्दै आएको जानकारी गराउनुहुँदै उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्थाहरुको खबरदारी स्वागतयोग्य रहेको बताउनुभयो ।
त्यसैगरि, गुणस्तर तथा नाप तौल विभागका उपमहानिर्देशक प्रभात कुमार सिंहले नियमनको सिलसिलामा उपभोक्ता अधिकारको क्षेत्रमा कृयाशिल संस्थाहरुसँग समेत सहकार्य हुँदै आएको जनाउनुभयो ।
वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक होमनाथ दवाडीले सरकारले आफनो क्षमता अनुसार काम गर्दै आईरहेको र तततत् नियमनकारी निकायले निश्चित कानुनको परिधिमा रहेर र आपसी समन्वयमा पनि काम हुँदै आएको बताउनुभयो ।
राष्ट्रिय उपभोक्ता मंचका सल्लाहकार डा. डिल्ली राम शर्माले नियमनकारी संस्थाको भूमिका प्रभावकारी हुन नसकेको उपभोक्ताको स्वास्थ्यमा सरकारबाटै गम्भिर लापर्वाही भएको जनाउदै बिषादि चेकजाँच गर्ने ल्याकत नराख्ने ल्याबबाट परिक्षण भैरहेकाले त्यसको कुनै अर्थ नरहने बरु उल्टो लागत बढन गई उपभोक्ताहरु बढी मुल्य तिर्न बाध्य रहेको जनाउनुभयो ।
मंचका महासचिव गोविन्द सुवेदीले स्वागत मन्तव्य राख्नुहुँदै उपभोक्ता अधिकारको पक्षमा राज्यको भूमिका महत्वपूर्ण रहने बताउनु भएको थियो ।
मंचका उपाध्यक्ष पुष्पराम पौडेलले कार्यक्रम संचालकको भूमिका निर्वाह गर्नुहुँदै कानुनको कार्यान्वयनमा सरकारले तदरुकता देखाउनुपर्ने खाँचो औल्याउनुभयो ।