News Desk
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सर्वसाधारणलाई रोकतोक नगरी काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुग्नु भएको छ ।बसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न उहाँ कुमारी घर पुग्नु भएको हो । राष्ट्रपति सवार हुँदा सवारीसाधन, सर्वसाधारण कसैलाई रोकिएको थिएन।
यसरी सवारी गरेर यसअघिको परम्परालाई उहाँले तोडनु भएको छ । यसअघि राष्ट्रपतिको सवारी हुँदा सर्वसाधारणलाई रोक्ने गरिदा सडक जाम हुँने गर्दथ्यो । र राष्ट्रपतिको सवारीको आलोचना हुने गरेको थियो।
कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गर्नु भएको थियो । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिउनु भएको थियो । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन।
राष्ट्रपति पौडेलले आफू निर्वाचित हुनुअघि नै सवारी जाम नगर्ने बताउनु भएको थियो । भ्रमणका क्रममा राष्ट्रपति पौडेललाई कुमारी घरका प्रमुख गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य लगायतले स्वागत गर्नुभएको थियो ।
राष्ट्रध्यक्ष भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्परा अनुसार राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जानु भएको हो । यसअघि शनिबार बिहान कुमारीघरबाट राष्ट्रपति पौडेलसँग भेटघाट गर्न शीतल निवास पुग्नुभएको थियो ।