News Desk
वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाले कक्षा ११ मा अध्ययनरत छात्राहरुलाई गाउँपालिका अध्यक्ष यसवन्त यादवले साइकल वितरण गरेका छन् । नियमित रुपमा विद्यालय आउन प्रोत्साहन गर्नका लागि अध्यक्ष यादवले पालिकामा रहेको दुइ प्लस टू विद्यालयको कक्षा ११ मा अध्ययनरत ८५ जना छात्रालाई नि:शूल्क साइकल वितरण गरेका हुन् । गाउँपालिकाको वडा नम्बर २ श्रीपुर पञ्चगावास्थित श्री दीपनारायण माध्यमिक विद्यालयका ३८ र वडा नम्बर ५ महुवनस्थित महुवन माध्यमिक विद्यालयका ४७ जना छात्रालाई साइकल वितरण गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
साइकल वितरणले छात्राहरुको शिक्षामा पहुँच बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष यादवले भने, ‘हाम्रो मधेशमा यतिकैपनि छोरीहरुलाई विद्यालय पठाउँन अभिभावक तयार हुँदैनन् । पठाएपनि उच्च शिक्षासम्म पुग्नु अघिनै विवाह गर्ने चलन छ । यो एउटा ठूलो चुनौती हो । यसलाई नियन्त्रण गर्न र छात्राहरु उच्च शिक्षाका लागि पनि विद्यालयसम्म ल्याउने उद्देश्यले साइकल वितरण गरेको छु । साइकलले उनीहरुको शिक्षासम्म पहुँच बढ्ने मेरो विश्वास छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने मेरो योजना छ ।’ अध्यक्ष यादवले महिला सशक्त भएमात्र पालिका र जिल्लाको विकास सम्भव रहेको बताए ।
शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन गाउँपालिका प्रतिबद्ध रहेको उनको भनाई छ । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागिसमेत अग्रसर बनाउने लक्ष्यका साथ आफू अघि बढेको बताए । उनले छात्राहरुलाई नियमित रुपमा विद्यालय आउन आग्रह पनि गरेका छन् । साइकल वितरणका लागि गाउँपालिकाले ७ लाख रुपैयाँ बजेट छुट्टयाएको थियो । आगामी वर्षहरुमा पनि साइकल वितरण कार्यक्रमलाई निरन्तरता दिइने यादवले बताए ।
साइकल वितरण कार्यक्रममा उपाध्यक्ष प्रमिला विष्ट महतो, वडा नम्बर २ का वडा अध्यक्ष चिरञ्जीवी महतो, वडा नम्बर ५ का वडा अध्यक्ष अशेश्वर यादव, श्री दीपनारायण माविका प्रधानाध्यापक शिवनाथ थारु, महुवन माविका प्रअ रामनरेश यादव, स्थानीय नेता जतु साह तेली लगायतको सहभागिता रहेको थियो ।