क्रिकेट टिमका खेलाडीद्वय आशिफ र आरिफ शेखलाई वीरगञ्ज महानगरपालिकाबाट मोटरसाइकल प्रदान
News Desk
Apr-02 , 2023 तारिख 08:56 बेलुका


वीरगञ्ज । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय आशिफ र आरिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल प्रदान गरेको छ ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले गरेको घोषणाअनुरुप शेखद्वयलाई शुक्रबार वीरगञ्जको घण्टाघर चोकमा आयोजित एक भव्य कार्यक्रमका विच यामाहा कम्पनिको एफजेड-एफआई मोटरसाइकल हस्तान्तरण गरिएको हो । 

चैत २ गते सम्पन्न आइसीसी क्रिकेट विश्वकप लिग २ को खेलमा यूएईविरुद्ध उत्कृष्टि प्रदर्शनी गर्दै नेपाललाई विश्वकम क्वालिफायरको छनोट खेलसम्म पुर्‍याउन महत्वपूर्ण पारी खेलेका ओपनिङ ब्याटर आसिफ शेष र अलराउण्डर आरिफ शेषलाई मेयर राजेशमान सिंहले सम्मान स्वरूप मोटरसाइकल प्रदान गर्ने घोषणा गरेका थिए । 

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा मेयर सिंहले वीरगञ्जनिवासी शेखद्वयले प्रतियोगीतामा आकर्षक प्रदर्शनी गर्दै नेपाली क्रिकेट टोलीलाई ऐतिकासिक सफलता दिलाएको र वीरगञ्जवासीको शिर ठाडो पार्ने काम गरेको बताउँदै सम्मान र प्रोत्साहन स्वरूप मोटरसाइकल प्रदान गरिएको बताए । ‘खुशी र गौरवको यस क्षणमा आगामि दिनमा अझ राम्रो प्रदर्शनको अपेक्षा राख्दै दुबै खेलाडीलाई थप प्रोत्साहन र हौसला बढाउन महानगरपालिकाको तर्फबाट मोटरसाईकल सहयोग प्रदान गरेका छौँ,’सिंहले भने ।

उनीहरुलाई आगामी भविष्यका लागि शुभकामना दिँदै सिंहले वीरगञ्जमा खेल र खेलाडीको विकासका लागि हरेक सम्भव काम गर्न तयार रहेको बताए । 

कार्यक्रममा वीरगञ्ज महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल लगायतको पनि उपस्थिति रहेको मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँले जानकारी दिए । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ निवासी आरिफ र आसिफ सहोदर भाई हुन् ।

धेरै पढिएको