सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै सिंहले गरे चिन्ता व्यक्त
News Desk
Apr-12 , 2023 तारिख 04:37 बेलुका

बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पछिल्ला केही समय यता बीरगञ्जको सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । धर्मको नाममा केही व्यक्तिले वर्षौँदेखिको धार्मिक सहिष्णुता तथा यहाँको सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै चिन्ता जाहेर गरेका हुन् ।

आशा किरण केन्द्रद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीरगञ्ज सबै जातजाति, भाष, धर्मको साझा फुलबारी रहेकाले यो सद्भाव विगार्न नहुने बताए । हिन्दुले मुस्लिमलाई, मुस्लिमले हिन्दुलाई गर्ने सम्मान र सद्भाव केही उच्छृङ्खल व्यक्तिका कारण धरासायी हुन नहुने भन्दै सबै संयमित भएर काम गर्नु पर्ने बताए । आफ्नो धर्म संस्कृतिको रक्षा आफैँले गर्नु पर्ने भन्दै उनले एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम गर्न नहुने बताए । वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कँदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै उनले समाजमा रहेका कुरिति, गरिबि हटाउन सहयोगीभावमा समर्पण हुनु पर्नेमा जोड दिए । हामीसँग भएका मन्दिरको संरक्षण छैन । भएका मन्दिरमा पुजारी छैन । पुजा गर्ने सामग्री छैन,’ उनले भने, ‘वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्म रक्षा हुन सक्दैन ।’ भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पुजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिँदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मीक सहिष्णुता कायम हुने उनले बताए ।

‘भएका मन्दिरको संरक्षण गर्नु जरुरी छ, त्यसलाई सौन्दर्यकरण गर्नु छ । पुजारी र पुजा गर्ने सामानको व्यवस्थापन गर्नु पर्ने छ । यता तर्फ कसले ध्यान दिने ?’ उनले प्रश्न गरे । मुस्लिम समूदायका केही व्यक्ति पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौदेखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।

धेरै पढिएको