नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी
News Desk
May-05 , 2023 तारिख 04:00 बेलुका

काठमाडौं , नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै भएको ठगी प्रकरणमा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । नेता रायमाझीसँगै उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतले बताएको छ । दुवै जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको र अहिले खोजी सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी दियो । यही प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव एबं पुर्व गृह सचिव टेकनारायण पाण्डेलाई बुधबार मात्रै काठमाडौंबाट पक्राउ गरेको छ । भुटानी शरणार्थीको आवरणमा भएको ठगी घटनामा सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन । हाल उपराष्ट्रपति कार्यालयमा कार्यरत उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार नियन्त्रणमा लिएको हो । गृह मन्त्रालयको सचिवको रुपमा कार्यरत रहँदा उनले ठगी गिरोहलाई सघाएको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो ।
गृह मन्त्रालयकै आडमा एक गिरोहले भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका लैजाने भन्दै करिब नौ सय जनालाई ठगी गरेको थियो ।

सोही प्रकरणमा द्वन्द्व विज्ञ तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको भनेर सयौं नेपालीले प्रहरीमा उजुरी दिएका छन । उजुरीको आधारमा प्रहरीले केही महिना अगाडिदेखि नै अनुसन्धान अगाडि बढाएको थियो। अमेरिका जाने भन्दै पीडितहरुले दिएको रकम राईले समेत लिएको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै पैसा असुली गर्ने कार्यमा एउटा ठुलो गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ । उक्त गिरोहको राजनीतिक दलका नेताहरुसँग साँठगाँठ भएको सार्वजनिक भईसकेको छ ।

 

धेरै पढिएको