वीरगञ्जको शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि राख्दिन् : मेयर सिंह
News Desk
May-09 , 2023 तारिख 09:11 बेलुका

 

वीरगञ्ज - वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जको शैक्षिक क्षेत्र मजबुत बनाउन कुनै कसर बाकि नराख्ने बताउनु भएको छ । 

वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोग र आर्या एजुकेशनको आयोजनामा आजबाट सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षाको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो । 

यसै शैक्षिक सत्रबाट ४ वटा सामुदायिक विद्यालयमा निशुल्क अंग्रेजी माद्यमको पठनपाठन सुरुवात गरेको भन्दै उहाँले आउँदा दिनमा आवश्यकता हेरि यो संख्या बढाउँदै लगिने बताउनु भयो । 

महानगरले यहाँका युवा दक्ष बनाउन विभिन्न किसिमका तालिम तथा तयारी कक्षाहरु संचालन गरिरहेको भन्दै युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । 

एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा सहभागिहरुलाई मेयर सिंहले ध्यान लगाएर अध्ययन गर्न आग्रह पनि गर्नु भयो । 

आजदेखि सुरु २ महिने निशुल्क नर्सिङ तयारी कक्षामा ३५ जनाको सहभागिता रहेको छ ।

धेरै पढिएको