News Desk
वीरगञ्ज - रोटर्याक्ट क्लब अफ युनाइटेड वीरगञ्जको पाँचौँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । क्लबका निवर्तमान अध्यक्ष अभिषेक सर्राफको अध्यक्षतामा भएको पदस्थापन समारोहलाई सम्बोधन गर्दै शशी रञ्जन कलवारले क्लब एक सामुदायिक संस्था भएको हुँदा सामाजिक क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । यसअघि पनि क्लबले विभिन्न क्षेत्रमा सह्रानीय कार्य गरेको बताउँदै उनले आगामी दिनमा पनि समाजलाई सही दिशामा निर्देश गर्ने खालका गतिविधि गर्न सुझाव दिए ।
पदस्थापन समारोहलाई रञ्जित अग्रवाल लगायतका व्यक्तिहरूले सम्बोधन गर्दै निवर्तमान कार्यसमितिलाई बधाईसहित नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष सर्राफले क्लबका वर्तमान अध्यक्ष पीयूष अग्रवाललाई ब्याज र कलर लगाएर पद हस्तान्तरण गरेका थिए । अघिल्लो वर्ष क्लबले गरेका कामको कदर गर्दै निवर्तमान अध्यक्ष सर्राफले आफ्नो कार्यकालका सबै पदाधिकारी एवम् सदस्यहरूलाई मायाको चिनो प्रदान गरेका थिए । साथै उनले आफ्नो कार्यकाललाई सफल बनाइदिएकोमा आभार व्यक्त गर्दै यस वर्षका नेतृत्व गरिरहेका पीयूष अग्रवाललाई पनि सहयोग र समर्थन गर्न आग्रह गरेका छन् । अहिलेको नेतृत्वले पनि सही ढङ्गले काम गर्ने उनको विश्वास छ ।
सोही अवसरमा १२ जना नयाँ सदस्यहरू पनि क्लबमा आबद्ध भएका छन् । उनीहरूलाई पनि ब्याच प्रदान गर्नुका साथै नयाँ पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण पनि गरिएको क्लबका पूर्व अध्यक्ष अमित सर्राफले जानकारी दिए । सर्राफका अनुसार क्लबमा फरक फरक पेसा अङ्गालेका व्यक्तिहरू आबद्ध हुँदा सबै क्षेत्रका गतिविधिमा संलग्न हुन सहज हुनेछ । पदस्थापन कार्यक्रममा वीरगञ्जका रोटरी क्लबका पदाधिकारी एवम् सदस्यका साथै विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।