News Desk
काठमाण्डौं । गोरखा बारपाक सुलिकोट वडा न ६ ताकुकोट भन्ञ्जाङ निवासी भिमनारायण श्रेष्ठ द्वन्दको घाउ लिएर बाँचेका एक क्रान्तिकारी सर्वहारा हुन । उमेरले ३ बिस पुग्नै लागेका भिमनारायणको अनुहारमा जति खुसी भेटिन्छ त्यो भन्दा गहिरो चोट उनको मन भित्र उकुसमुकुस भएर बसेको सायदै कसैले देखेको छैन । भिमनारायण २०५२ सालमा माओवादीले शुरु गरेको जनयुद्धमा लागेको आरोपमा ४३ दिन राज्यबाट धेरै यातनासहित गोरखा कारागारमा जेल बसे । कारागारबाट रिहा भएसँगै उनी त्रास बोकेर गाउँघरमै दु:ख जिलो गरेर बसे । देशमा माओवादी आन्दोलन चरम उत्कर्षमा रहेका बेला गाउँघरमा टिक्न र हिडडुल गर्न कम्ता सास्ती थिएन । सर्वसाधारणमा जाउ त कहाँ जाउ, नजाउ कसरी बाचौ भन्ने पिरै पिर थियो । सहजै हिडडुल गर्न पाउने अवस्था कत्ति थिएन । एकातिर राज्य पक्ष त अर्को तर्फ आन्दोलनरत माओवादीबाट तारो बनेर बाँच्नु पर्ने अवस्था भिमनारायण जस्ता सर्वसाधारणमा थियो । २०५६ सालमा भिमनारायण श्रेष्ठले ठुलै दुर्दशा भोगे । माओवादीमा लागेको आरोपमा सिस्नो पानी सहित धेरै दिनसम्म यातना पाए । त्यसबेला ताकुकोट ईलाका प्रहरी कार्यालयले आफुलाई धेरै दिनसम्म यातना दिएर तारिखमा छाडेको सम्झदा भिमनारायण श्रेष्ठ भक्कानिए ।
त्यस भेगका माओवादी नेता, तत्कालीन गण्डक ब्यूरो सदस्य सैन्य कमान्डर आसाकाजी श्रेष्ठ (हिमाल) नाताले भिम नारायणका दाई पर्थे। ताकुकोट, शौरपानी, स्वारा ,पन्द्रुङ, लाकुरीबोट, देउराली ,गैरिछाप, घ्याम्पेसाल, मसिल, खान्चोक क्षेत्रमा उनको ठुलो प्रभाव थियो । भिमनारायणका लागि आशाकाजी सामन्ती समाजमा जनतामाथिको अन्याय अत्याचार, दलित, महिला र किसानहरु माथिको शोषण तथा थिचोमिचो बिरूद्द लड्न प्रेरित गर्ने एउटा धरोहर अभिभावक थिए । धेरैलाई कम्युनिष्ट हुन र माओवादीमा होलटाईमर हुन प्रेरित गर्ने आशाकाजी माथि भिम नारायणको अगाध विश्वास र भरोषा थियो । आशाकाजीलाई उस्तै श्रद्धा पनि गर्थे उनी । ताकुकोट गाविस भन्ज्याङमा थियो आसाकाजीको घर । माओवादी सैन्य कमान्डर आसाकाजी तिहारमा आफ्नो परिवारलाई भेटघाट गर्न भन्ज्याङ घर आएको मौका छोपी खाना खाँदै गर्दा तत्कालीन ताकुकोट ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले घर पुरै घेरा हाली गोली प्रहार गरि उनको हत्या गरेको थियो ।
कार्तिक १९ गते बेलुका आसाकाजीको हत्या भएपछि आसाकाजीको परिवार सहित पुरै गाउँ शोकमग्न थियो। गाउँकै केही मान्छेहरूबाट सुराकीका आधारमा उक्त घटना घटेको भिमनारायण लगायतले भेउ पाए । उनका अनुसार आसकाजीको हत्या पश्चताप बगेको आशु सुक्न नपाउँदै तत्कालीन घ्याम्पेसालमा खटिएको तत्कालीन शाहीसेनाले पाल्खु भन्ज्याङका सबै स्थानीयहरूलाई गाली गर्दै, कुट्दै,थर्काउदै सबैलाई त्रास उत्पन्न बनाएको थियो । अर्कोतर्फ गाउँको नजिकको दाई, एउटा आशाको धरोहर नेताको हत्या भएकोमा भिमनारायण श्रेष्ठको आँखाको आँसु सुकीसकेको थिएन। त्यसको ३ दिनमा अर्थात कार्तिक २२ गते तत्कालीन शाहीसेनाले भिमनारायणलाई माओवादी भएको आरोपमा भन्ज्याङबाट धरपकड गर्यो । त्यसपछि शुरु भयो उनको दुरदिन । भिम नारायण श्रेष्ठलाई सेनाले घरबाटै त पनि माओवादी हैन भन्दै कुट्दै घिसार्दै लगेर हेलिकोप्टरमा राख्यो । उडानका क्रममा ताकुकोट , स्वारा, शौरपानी सुलिकोट डाँडा, हुडीपारी वन धार्चे आदी ठाउँमा घुमाउदै माओवादीहरू कहाँ बस्छन भनभन्दै हिर्काउदै हेलिकोप्टर भित्रै यातना दिई ताकुकोट पोखरी गैहिरा आङ्गेटारी फाँट माथी उड्दै गरेको अवस्थामा तल फ्याँकिदिएको घटना आफनो मानसपटलमा अझै ताजै रहेको उनी सुनाउछन्।

त्यस घटनामा उनको टाउको र नाक मुखमा ठुलो चोट लाग्यो भने दात भाँचिनुका साथै खुट्टा मर्केको थियो । अहिले पनि उनको अगाडीको दाँत भाँचिएको प्रस्ट देखिन्छ । र अहिले पनि उनको गोडाले हिड्न मेसो पाउदैन् । आकाशबाट जमिनमा खसाईएका भिमनारायण श्रेष्ठलाई तलबाट पनि आर्मीले जबर्जस्ती हिडाउदै घिसार्दै ताकुकोट प्रहरी कार्यालय हुँदै घ्यामेसाल अस्थाई आर्मी ब्यारेकमा पुर्याएको थियो। घ्याम्पेसाल पुर्याई सकेपछी ट्वाईलेटमा जम्मा हुने सेफ्टी ट्याङ्कीको खाल्टोमा टाउको मात्र माथी देखाएर कयौँ दिनसम्म भोक भोकै राख्दा आफुमा बाँच्ने आशा विलुप्त भएको उनी बताउँछन् ‘म मा अब बाँचिन्छ भन्ने झिनो आशा पनि थिएन, सेनाले भोकै राखेर ३६ दिनसम्म चरम यातना दिदाको घटना सम्झदा आज पनि उस्तै कायल हुन्छु । त्यतिबेला सेनाको यातनाबाट त बलतल छुट पाए तर अहिले पुरै शरिर थिलथिलो बनेर कुजो जस्तो बनेको छु’ । हिजोको यातना सम्झिदा अहिले पनि आङ् सिरिङ्ग हुने भिम नारायण श्रेष्ठ बताउछँन् । ‘मलाई सपना होकि बिपना हो जस्तो लाग्छ। मैले बाँचेर आउछु भन्ने आशा मारेको थिए, तर बाँचे, अहिले धेरै पीडामा छु । न राम्रोसँग सुत्न सक्छु, न हिड्न नै सक्छु । झरि बादल जाडोमा ज्यान दुखेर सहन गाह्रो हुन्छ। तर पनि तड्पीयर बाचेको छु’ भिम नारायण श्रेष्ठले पिडा पोखे ।
हेर्दा हँसिलो र फरासिला भिम सबैसँग हाँसेरै बोल्छन्। ‘भित्र जति दु: ख भएपनि चित्त बुझाउन पर्दो रहेछ’ उनी भन्छन् ‘म ४ घन्टा भन्दा धेरै सुत्नै सक्दिन । चार घन्टा भन्दा धेरै सुते भने ज्यानको पिडाले गर्दा रूदै बस्न बायक अरू उपाय मसँग छैन । ४ घन्टा बढी सुते भने मेरो ज्यानले मलाई रुन बाध्य बनाउँछ । हिजोको आर्मीको यातना र प्रहरीको यातनाले ज्यानको कुनै भाग खाली छैन । कहिले काही थोरै लोकल रक्सी नखाई सुत्नै सक्दिन’ । उनलाई जाडो महिना झरि बादल नआए पनि हुन्थ्यो झै लाग्छ। ‘परिवर्तनको आशमा आँफैले यति विघ्न दु:ख पाए, नजिकको दाई (आसाकाजी श्रेष्ठ) गुमाए, अहिले न नेतालाई भेटेर आफ्नो कुरा राख्न पाइन्छ न पार्टी र नेतृत्वले हामी जस्ताको खोजी नै गर्छ । अहिले सम्झिदा दु:ख लाग्छ, ज्यान अपाङ्ग जस्तो छ ।के गरिखाने ? कसरी बाँच्ने ? कहिले काही त मर्न मन लाग्छ’ भिम नारायणले गहभरि आशु पार्दै भने ।

भिम नारायण श्रेष्ठको निर्वाचन क्षेत्रबाट उनकै प्रिय कमरेड प्रचण्ड निर्वाचित भएका छन् । सायदै उनी जस्ताको साथ र मत पाएरै प्रचण्ड प्रधानमन्त्री बनेका हुन । त्यसो त गृहमन्त्री नारायण श्रेष्ठ पनि उनकै निर्वाचन क्षेत्रकै हुन । गाउँ पनि नजिकको दुरीमा पर्छ । ‘प्रचण्डलाई गोरखावासीले जिताएर पठाए, उनी प्रधानमन्त्री बने । अहिलेका गृहमन्त्री नारायण श्रेष्ठलाई पनि २०७४ सालमा भोट दिएको हो तर भेटेर सुझाव र आफ्नो कुरा राख्न पाएको छैन’ भिमनारायणले मलिन लवजमा आक्रोशित हुँदै भने । भिमनारायणले अहिले काठमाडौंमा पार्केटिङको काम गर्दै आफनो गुजारा चलाउदै आएका छन् । भाडाको एक कोठामा जेनतेन जीवन धान्दै आएका भिम बिहानै ४ बजेनै उठेर एउटा झोला च्यापेर काममा निस्कन्छन् । दुई छाकको गर्जो टार्न र घामपानी, हुरी बतासबाट जोगिन त्यही साँघुरो एक कोठाको जोहो गर्ने मेलो त्यही खटाईले जुराएको छ । थिलोथिलो बनेको अर्धनास्ती शरिरसँगै घोटिदा घोटिदा भिम नारायणको उमेर पाकेर कपाल सेताम्ये भैसकेका छन् , नाडी बसिसकेका र हड्डी खिई सकेका छन् । आफना सन्तानको उज्जवल भविष्यको चिन्तासँगै जिम्मेवारीवहन गर्न उनी राजधानी छिरे । तीन मध्ये दुई सन्तानसँगै एउटा साँघुरो कोठामा हाल पनि गुजारा चलाई राखेका छन् उनी । सानो छोरा र श्रीमती भने गाउँमै बस्छन् । उनले श्रीमतीलाई काठमाडौं ल्याउने आँट गर्नै सकेका छैनन् ।
काठमाडौंमा दैनिक ज्यालादारी गरेको कमाईबाट नै घर खर्च चलाउछन् भिम नारायण । ठुलो सपना केही छैन् उनको । आफुले जस्तै सन्तानले दु:ख झेल्न नपरोस् भन्ने छ उनको मनमा । त्यसका लागि रातदिन नभनी खटिदै आएका छन् । हात खुट्टा बसेको दिन भोली परिवार र आँफैलाई के हुने हो भन्ने अर्को पिरलो आफनो मनमा रहेको उनी सुनाउँछन् ‘जीवनको उर्वर समय देश र जनताकै बारेमा सोची राखे, जनयुद्धमा लागेकाले सेनाबाट यातना भोगे, अहिले बुढेसकालले छोप्नै लाग्दा शारिरिक र मानसिक पिरलो दुवै बढेको छ’ । भिम नारायणले लामो सुस्केरा पछि केही बेर मौनता साँधिरहे । भित्रभित्रै आँफै थलिएर जिर्ण बन्दै, पिडा बोकेर बाँचेका भिमनारायणमा आफना नेतालाई आफ्नो मनको वह पोख्ने झिनो आशा भने अझै जीवितै छ ।
