जीवन ज्योति स्कूलको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न
News Desk
Sep-05 , 2023 तारिख 05:51 बेलुका

वीरगञ्ज । विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ वीरगञ्जस्थित जीवन ज्योति स्कूलले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । किताबी ज्ञानसँगै बाह्य ज्ञान प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकास गर्ने जीवन ज्योति स्कूलले नेतृत्व सिप, करियर काउन्सीलिङ् र मानव बेचबिखन सम्बन्धी अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा नेतृत्व विकासको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका सन्तोष कर्णले विद्यार्थीहरूलाई अध्ययन अध्यापनसँगै विभिन्न क्षेत्र र गतिविधिमा सहभागिता जनाएर आफ्नो नेतृत्व विकास गर्न सकिने बताए । उनले नेतृत्व विकासका लागि आफै अगाडि बढेर पहल गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै बैङ्किङ क्षेत्रमा राम्रो अनुभव बटुलेका दिवस सिंह ठकुरीले आजको युगमा जुनसुकै क्षेत्रमा व्यावसायिक जीवन बनाउन सकिने बताए । चिकित्सा, इन्जिनियरिङ, बैङ्किङ जस्ता क्षेत्रमा मात्रै पैसा कमाउन सकिने पारम्परिक सोचलाई तोडेर अगाडि बढ्नुपर्ने उनले बताए । यद्यपि आफूले छानेको पेसामा कडा परिश्रम गरेर कुशलता प्राप्त गर्दै उत्कृष्ट काम गर्ने मात्र सफलता पाइने उनको भनाई थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सास्थित महिला सेलीकी प्रमुख मनीषा लौडारीले प्रविधिको विकाससँगै मानव बेचबिखन हुने तरिकामा परिवर्तन आएकोले सहज रहन विद्यार्थीहरूसँग आग्रह गरिन । पछिल्लो समय आइटी र इन्टरनेटको माध्यमबाट पनि मानव बेचबिखनका घटनाहरू बाहिरिएको उदाहरण सुनाउँदै उनले सचेत नभए पढेलेखेको व्यक्ति पनि बेचबिखनमा पर्न सक्ने बताइन । इन्टरनेटमा साथी बनाउँदा उसको बारेमा पूर्ण रूपले जानकारी लिएर मात्र कुराकानी गर्ने सुझाव दिँदै उनले सकेसम्म नचिनेको व्यक्तिसँग साथी नबन्न आग्रह गरिन ।

विद्यालयका कार्यकारी निर्देशक निखिल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा तीनै जना अतिथिहरूलाई सम्मान पत्र प्रदान गरिएको थियो । गुप्ताले आगामी दिनमा पनि विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्ने किसिमको कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

धेरै पढिएको