स्मारक बिकास समितिको अध्यक्षमा पुन : पौडेल सर्वसम्मत रुपमा चयन
News Desk
Sep-18 , 2023 तारिख 03:05 बिहान

हेटौडा -३१ (दिपक पराजुली)

हेटौडा उपमहानगरपालिका वार्ड नं -११ अवस्थित सहिद स्मारक बिकास समितिको अध्यक्षमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल निर्बिरोध निर्वाचित हुनु भएको छ। आज बसेको १४ औ परिषद बैठकले अध्यक्षमा पौडेल लगायत सदस्यहरु , अनुगमन समिति र लेखा समिति गरि २३ जना सर्वसम्मत रुपमा चयन गरेको हो। पौडेल शहिद स्मारक बिकास समितिको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ। २०४९ सालमा हेटौडा उपमहानगर पालिकाको नगर प्रमुखमा निर्वाचित भएपछि सानो पार्कको रुपमा निर्माण सुरु गरिएको यो सहिद स्मारक पार्क अहिले देशकै नमुना पार्कको रुपमा बिकास भएको छ। शुक्रराज शास्त्री ,भक्ति थापा , गंगालाल श्रेष्ठ धर्मभक्त माथेमा लगायत १६ सहिदहरुको आकृति एउटा नै ढुंगामा कुदिएको यस पार्कको मुख्य आकर्षण हो। यस लगायत राष्ट्रका ऐतिहासिक धरोहर पुस्पलाल श्रेष्ठ ,बि.पी कोइराला ,मनमोहन अधिकारी र गणेशमानको मुर्ति आकर्षक रुपमा राखी प्रजातान्त्रिक पार्क निर्माण गरिएको छ। सानो चिडियाखाना यसको अर्को मुख्य आकर्षण हो। यसका साथै जननेता मदन भण्डारीको मुर्ति लगायत , स्विमिङ्ग पुल ,सानो झोर्लुङ्गे पुल ,बाल उधान र टाढा बाट आउनेहरुका लागि पिकनिक क्षेत्र अर्को आकर्षण रहेको छ । सहिद पार्कमा पछिल्लो समयमा बनाइएको गौरीशंकर हिमाल र मेकानिकल चंगाले थप आकर्षण थपेको छ। सहिद स्मारकमा अहिले ३० जना कर्मचारी कार्यरत छन् भने प्रत्यक्ष अप्र्त्यक्ष रुपमा २०० घर परिवार समेत लाभान्वित हुने बताइएको छ । कार्यक्रममा राष्ट्रिय सभा सांसद रामचन्द्र राइ ,प्रदेश सभा सदस्य एकलाल श्रेष्ठ , संबिधान सभा सदस्य अनन्त पौडेल , जिल्ला समन्वय प्रमुख ललित घलानका साथै रामेश्वर राना ,केदार न्यौपाने ,रघुनाथ खुलाल ,बद्रि लम्साल ,नबिन सिग्देल, प्रताप बिष्ट,तुलसी रिजाल लगायतको उपस्थिति रहेको थियो।

धेरै पढिएको