News Desk
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सकेर फर्किएका छन्। उनी विहान १० बजे कतार एयरवेजको विमानबाट दोहातर्फ प्रस्थान गरेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिएकी छिन्। महासचिव गुटेरेसलाई उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे।
नेपाल भ्रमणका क्रममा महासचिव गुटेरेसले विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन पनि गरे।
उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षसहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरेका थिए। त्यसबाहेक उनले सगरमाथा आधारशिविर, अन्नपूर्ण बेसक्याम्प, गौतम वुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण गरे।
भ्रमणका क्रममा महासचिव गुटेरेसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पु¥याउन राष्ट्रसंघ सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका छन्। साथै जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको असरको क्षतिपूर्ती विकसित मुलुकबाट पाउनुपर्नेमा पनि उनको जोड छ। सरकारको निमन्त्रणमा गुटेरेस गत शनिबार राति नेपाल आएका थिए।