News Desk
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड टोलीसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन्।तत्कालै उद्दार, खोज र राहतका लागि नेपाली सेनाको १६ जनाको मेडिकल टिम र आवश्यक सामग्रीसहित प्रधानमन्त्री प्रभावित क्षेत्रतर्फ गएका हुन । भुकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुममा प्रधानमन्त्री प्रचण्डसहित उर्जा मन्त्री तथा जाजरकोट जिल्लाबाट निर्वाचित सांसद शक्ति बस्नेत, रूकुमबाट निर्वाचित सांसद तथा पूर्व मन्त्री जनार्दन शर्मा साथमा गएका छन् । स्वास्थ्यकर्मिको टोलीसहित स्वास्थ्य सामाग्री लिएर उनीहरु सेनाको हेलिकोप्टरमा उडिसकेका छन् ।
जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । काठमाडौ, सुर्खेत र नेपालगन्ज गरि ३ ठाउँबाट हवाइ उद्दार गरिने बताईएको छ।
खोज तथा उद्धार लागि सरकारले सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट तिनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरेको छ।
जाजरकोटमा मध्यराती आएको भूकम्पमा परी ७१ जनाको मृत्यु भैसकेको छ भने १०० भन्दा बढि घाईते छन् ।