राहत र उद्धारमा प्रधानमन्त्री प्रचण्डको १८ घण्टा खटाई
News Desk
Nov-05 , 2023 तारिख 02:45 बेलुका


प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्प पीडितको राहत, उद्धारका लागि १८ घण्टा व्यस्त रहेको जनाइएको छ। उनले शुक्रबार राति ११:४७ बजे भूकम्प महसुस गरेपछि राति १ बजेसम्ममा स्थानीय निकाय, प्रशासन र सुरक्षा अंगहरुबाट भूकम्प गएको स्थान र त्यसले पुर्‍याएको क्षतिका बारेमा जानकारी लिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार राति २:२० बजे उनले सामाजिक सञ्जालमार्फत भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिबाट आफू मर्माहत भएको र सुरक्षाका सबै अंगहरुलाई तत्काल उद्धार र राहतका लागि जुट्न निर्देशन दिए।
बिहान ३ बजे सबै सुरक्षा अंग, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र विमानस्थललाई तयारी अवस्थामा रहन निर्देशन दिएको सचिवालयले जनाएको छ। बिहान ६ बजे प्रधानमन्त्री दाहाल त्रिभूवन विमानस्थलबाट सेनाको हेलिकप्टरमार्फत जाजरकोटका लागि प्रस्थान गरे। भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गर्ने क्रममा उनले आफ्ना सचिवालयका सदस्यहरु र सुरक्षाकर्मीहरुको सबै कटौती गरी जनप्रतिनिधिका साथमा १६ जना स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट लागे। जाजरकोट ८:१५ बिहान बजे ओर्लेपछि थाप्लेचौरमा रहेको अस्पतालमा उपचार गराइरहेका घाइते र तिनको उपचारमा संलग्न चिकित्सकहरुलाई घाइतेको प्रकृति र उनीहरुको उपचारका बारे जानकारी लिएर उपचारमा कुनै कमी नगर्न निर्देशन दिए। ‘घाइतेका आफन्तहरुलाई सरकारले सबै घाइतेको निस्शुल्क उपचार गर्ने र सरकारप्रति भरोसा गर्न अपिल गर्नुभयो,’ सचिवालयले भनेको छ। उनी शनिबार ९:३० बजे नलगाड गाउँपालिकाको दल्ली भन्ने स्थानमा रहेको अस्पतालमा पुगी एक बालकसहित ७ जना घाइतेहरुलाई आफूसँगै लिएर चौरहजारी विमानस्थलका ओर्लिए। चौरहजारीमा ती ७ जना घाइतेहरुलाई नेपाली सेनाको स्काई भ्यानमा पठाई भने आफू उक्त स्थानमा रहेको अस्पतालमा घाइतेहरुको अवस्थाको बारे चिकित्सकहरुसँग जानकारी लिए। शनिबार ११ बजे चौरहजारीबाट उनी रुकुमको सानीभेरी गाउँपालिकातर्फ उडे। त्यहाँस्थित अस्पतालमा घाइते र घाइतेका परिवारजनसँग उनीहरुको अवस्था र उपचारका बारेमा जानकारी लिए।
मध्याह्न १२ बजे सानीभेरी गाउँपालिकाबाट रुकुमकै मुसीकोटमा रहेको सल्ले एयरपोर्टमा उपचाररत घाइतेहरुको स्थितिका बारेमा जानकारी लिई दिउँसो १ बजे सल्ले विमानस्थलबाट आठबिसकोट नगरपालिकाको राडी भूकम्पले पुर्‍याएका भौतिक क्षतिहरुको अवलोकन गर्दै अस्पताल पुगे। राडीबाट उनले एक बालकसहित ३ जना घाइते र तिनका कुरुवालाई आफूसँगै हेलिकप्टरमा नेपालगन्ज लिएर आए।

‘दिउँसो २ बजे उहाँले भूकम्पको क्षति बुझ्न, पीडितका पीडा र अनुभूतिहरू सुन्न, घाइतेहरूको उद्धार र पीडितको राहतका निम्ति प्रभावित क्षेत्रमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो,’ सचिवालयले भनेको छ, ‘पीडितलाई राहत र पुनर्स्थापना एवं घाइतेहरूको उपचारका लागि सरकार गम्भीर रहेको जानकारी गराउनुहुँदै यस कार्यमा सहकार्य र हातेमालोका लागि उहाले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाजलगायत सबैमा अपिल पनि गर्नुभयो।’

दिउँसो २:३० बजे उनले नेपालगन्जबाट आफूलाई लिएर आएको हेलिकप्टरमा ती ३ जना घाइतेलाई उपचारका लागि सुर्खेत पठाए र नियमित उडानमार्फत प्रधानमन्त्री काठमाडौं फर्किए। प्रधानमन्त्री दाहालले भूकम्प गएदेखि नै उद्धार र राहतमा भूकम्प प्रभावित क्षेत्रमा गएर प्रत्यक्षरुपमा अवलोकन गरे। उनले प्रभावित क्षेत्रमा आफू उद्धार र राहतमा रहँदारहँदै पनि विभिन्न मन्त्रालयका मन्त्रीहरुलाई पनि उत्तिकै तयारी अवस्थामा रहन निर्देशन दिइरहेका थिए। ती मन्त्रालयलाई उनले राहत र उद्धारका लागि आवश्यक निर्णय लिन निर्देशन पनि गरे।

प्रधानमन्त्रीको निर्देशनपश्चात् गृह मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने आवश्यक निर्णय गरिसकेको छ।

धेरै पढिएको