भूकम्प अपडेट: जाजरकोट र रुकुमपश्चिममा गरी मृत्यु हुनेको सङ्ख्या १५३ कायम
News Desk
Nov-07 , 2023 तारिख 12:06 बेलुका

जाजरकोट- २१ कार्तिक

जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक सय एक कायम भएको छ । यसअघि जाजरकोटमा मात्र एक सय पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको थियो ।

जाजरकोटको नलगाड नगरपालिकाका तीन जनाको ठेगाना फरक परेको र अर्को एक जनाको नागरिकता र बोलाउने नाम छुट्टाछुट्टै रहेकाले मृत्यु हुनेको सङ्ख्या घटेको जिल्ला प्रहरी प्रमुख सन्तोष रोकामगरले बताउनुभयो ।

यसअघि नलगाड नगरपालिकामा ५५ जनाको मृत्यु भएको तथ्याङ्क प्रहरीले दिएको थियो । अहिले नलगाडमा ५१ जनाको मृत्यु भएको सङ्ख्या यकिन भएको प्रमुख रोकामगरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले प्रारम्भिक तथ्याङ्कअनुसार एक सय ५७ मृतक घोषणा गरेका थियौँ । तर अहिले सबैतिरबाट भेरिफाइ गरेपछि केही नाम र ठेगाना भएको मृतकहरू दोहोरिएकाले मृतक सङ्ख्या घटेको हो ।”

प्रमुख रोकामगरका अनुसार नलगाड नगरपालिका–८ की सरिता सिंह, नलगाड–७ का रेगम सिंह, नलगाड–१२ की मीना बिष्टको नाम दोहोरिएको थियो । टेकबहादुर पुन व्यक्ति एउटा मात्र रहेका तर नाम दुई स्थानमा उल्लेख हुँदा सङ्ख्या दोहोरिएको थियो ।

जाजरकोटको भेरी नगरपालिकामा ४२ जनाको मृत्यु भएको छ । त्यसमध्ये २८ महिला र १४ पुरुष छन् । जाजरकोटकै नलगाड नगरपालिकामा ५१, कुशे गाउँपालिकामा सात र छेडागाड नगरपालिकामा एकजना गरी एक सय एकजनाको मृत्यु भएको हो ।

त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । दुवै जिल्लामा गरेर ज्यान गुमाउनेको सङ्ख्या जम्मा एक सय ५३ मात्र निश्चित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए ।

धेरै पढिएको