अब चाइना पुल ६ लेनको
News Desk
Nov-12 , 2023 तारिख 12:38 बेलुका

पोखरा । पोखरा महानगरपालिका–९ र १० जोड्ने गरी सेती नदीमा बन्न लागेको पुलको शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरेका छन् । त्यस क्रममा मन्त्री ज्वालाले पोखरा प्रवेश गर्ने सुन्दर गेटको रुपमा यो पुललाई विकास गरिने बताए ।

‘पोखराको कोर सिटीमा प्रवेश गर्ने एउटा सुन्दर गेटको रुपमा मान्छेहरुले यो पुल पार गर्नेछन्’, मन्त्री ज्वालाले भने, ‘पोखरा–काठमाडौं जोड्ने यो पुलले आर्थिक विकासका निम्ति पनि ब्याक बोनका रुपमा काम गर्ने छ ।’

पुल शिलान्यासका बेला गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जालीले मुग्लिन–पोखरा सडक विस्तारको काम निकै सुस्त भएको भन्दै मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री ज्वालाले पश्चिम खण्ड निर्माण निकै सुस्त रहेकाले छलफल गरेर समाधान खोजिने बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुल निर्माणमा अवरोध हुन नदिने निर्माण कम्पनीलाई आश्वासन दिए । ठेक्का सम्झौता अनुसार रसुवा कन्स्ट्रक्सनले यो पुल २०८२ भदौ २१ गतेभित्र निर्माण सक्नुपर्नेछ ।

प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पुल निर्माणसँगै सेती नदी संरक्षणमा पनि ध्यान दिनुपर्ने बताइन् । भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्माले चाइना पुलमा भविष्यमा ‘सेल्फी पुल’ बन्न सक्ने बताए ।

मन्त्री ज्वालाले चाइना पुलको विकल्पका रुपमा हेरिएको मितेरी पुल पनि निर्माण गरिने बताएका छन् । पोखराको पुरानो र नयाँ विमानस्थल जोड्ने यो पुलले स्थानीय, प्रदेश र संघीय सरकारलाई मितेरी साइनो जोड्ने काम पनि गर्ने उनको भनाइ छ ।

धेरै पढिएको