News Desk
काठमाडौँ। चुनौतीकाबीच राष्ट्रिय गौरवको काठमाडौँ–तराई÷मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको मुलुकको सर्वाधिक प्राथमिकतामा रहेको उक्त आयोजनाको भौतिक प्रगति २७ दशमलव १९ र वित्तीय प्रगति २९ दशमलव ३२ प्रतिशत छ।
नेपाली सेना, विकास निर्माण निर्देशनालयका सहनिर्देशक प्राविधिक महासेनानी विश्वबन्धु पहाडीले उक्त आयोजना निर्धारित मितिमा सम्पन्न गर्न सेना प्रतिबद्ध रहेको बताए। ‘नेपाली सेनाको जिम्मेवारीअन्तर्गत निर्माणाधीन द्रुतमार्ग निर्माण कार्यलाई गुणस्तरीयरुपमा लक्षित समय सीमाभित्र सम्पन्न गर्न सेना कटिबद्ध रहेको छ’, उनले भने।
आयोजनाको मुख्य चुनौतीका रुपमा लिइएको सुरुङ र अग्ला विशिष्ट प्रकृतिका पुल निर्माण लक्ष्यअनुरुप र उत्साहजनक ढङ्गले प्रगति भइरहेको पहाडी भनाइ छ। उनका अनुसार आयोजनाअन्तर्गत मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ र अग्ला पुल निर्माण भइरहेका छन्।
सरकारले गत असोज ३० गते आयोजनाको परिमार्जित डिपिआर स्वीकृत गरेको थियो। उक्त डीपीआरअनुसार द्रुतमार्गको कूल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर रहेको छ। आयोजनामा छ वटा सुरङमार्ग रहेका छन्। सुरुङमार्गको कूल लम्बाइ १० दशमलव ०५५ किलोमिटर रहेको छ।
देविचौरमा एक, सिसौटारमा शून्य दशमलव ३९, चन्द्राम भिरमा दुई दशमलव २५, महादेवडाँडामा तीन दशमलव ३५५, धेद्रेमा एक दशमलव ६३० र लेनडाँडामा एक दशमलव ४३० किलोमिटर लामा सुरुङ निर्माण हुनेछन्। अहिले लेनडाँडा, महादेवडाँडा र लेनडाँडामा सुरुङ निर्माणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ। उक्त द्र्रुतमार्ग ‘एसियन हाइवे’ मापदण्डको हुनेछ। सो सडकमा दुईपाङ्ग्रे सवारी गुडाउन निषेध गरिनेछ।
आयोजनामा १२ दशमलव ८८५ किलोमिटर लम्बाइका विभिन्न ८९ वटा पुल निर्माण गरिनेछ। मकवानपुरको बुदुनेमा सडकको दुवै किनारामा दुई विश्रामस्थल हुनेछन्। ती विश्रामस्थलमा पेट्रोलपम्प, शौचालय, होटललगायतका सुविधा रहनेछ।
द्रुतमार्गमा खोकना, बुदुने र निजगढमा प्रवेश गर्न र बाहिरिनसक्ने ‘इन्टरचेञ्ज’को व्यवस्था हुनेछ। सो सडकमा ती स्थानबाहेक अन्य स्थानमा प्रवेश गर्न र निस्कन पाइने छैन। यस्तै उक्त सडकमा गुड्ने सवारीको शुल्क उठाउने प्रयोजनका लागि खोकना, बुदुने र निजगढमा एकरएक वटा ‘टोल प्लाजा’ हुने सेनाले जनाएको छ। कूल एक घण्टा दुई मिनेटमा खोकनादेखि निजगढसम्मको यात्रा गर्न सकिनेछ।
उक्त आयोजना विसं २०८३ चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाको कूल लागत दुई खर्ब ११ अर्ब ९३ करोड रहेको छ। रासस