News Desk
चितवन । तस्करहरूले चितवन राष्ट्रिय निकुञ्जका दुईवटा एकसिङ्गे दुर्लभ गैंडा मारेका छन् । गैंडा तस्करहरूले निकुञ्जको पूर्वी सेक्टरको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार तस्करहरुले अन्दाजी १८ र ५ वर्षका पोथी गैंडा मारेको जानकारी दिए ।
तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैंडा मारी खाग र खुर काटेर लगेको पाइएको छ । गैंडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ । तिहारको मौका छोपी तस्करहरुले घटना घटाएको देखिन्छ ।
निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको देखिन्छ । उनले व्यवसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैंडा मार्न सफल भएको बताए । गैंडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो । गैंडालाई धरापमा पार्न खाल्डो खनिन्जेल निकुञ्जको सुरक्षागस्ती नहुनु तथा सूचनासमेत नपाउनु निकुञ्ज प्रशासनको लापरवाही भएको एक संरक्षण अधिकृतले बताए ।
सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैंडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो ।