News Desk
ललितपुर : महानगरले खरिद गरेको अमेरिकी मापदण्डको २ वटा अत्याधुनिक दमकल परिचालनको शुभारम्भ गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् न्यूनीकरण र व्यवस्थापनका लागि सामूहिक प्रयत्नको खाँचो पर्ने बताए।
उनले विपद् व्यवस्थापनको सन्दर्भमा गर्नुपर्ने काममा उच्च प्राथमिकता दिएको पनि बताए। ‘हामीसँग १०६ वर्ष पुरानो डेनिस दमकल पनि सञ्चालनमा रहेको छ‚’ उनले भने।
अहिले आएका यी दमकलले अरू दमकल पुग्न नसक्ने ठाउँमा पनि पाइपको माध्यमबाट आगो निभाउन सहयोग पुर्याउने छन्। पानीले ननिभ्ने आगोलाई फोम हालेर निभाउन मिल्ने यो दमकलले धेरै नै ठूलो सहयोग पुग्ने जनाइएको छ।
महानगरका खरिद महाशाखा प्रमुख सागर थापाका अनुसार अमेरिकी मापदण्डका यी २ दमकल खरिदका लागि २०७९ असोजमा सम्झौता भएको थियो।
२ वटा अत्याधुनिक दमकलको लागत मूल्य ५ करोड ६५ लाख रुपैयाँ रहेको जानकारी उनले दिए।
दमकलको प्राविधिक पक्षबारे बताउँदै महानगरका मेकानिकल इन्जिनियर पुष्कर भट्टराईले यी दमकलले १२० मिटरसम्म उच्च क्षमतामा पानी र केमिकलको फोहोरा हान्न सक्ने जानकारी दिए।
उनका अनुसार ती दमकलमा २ हजार ५ सय लिटर पानी भण्डारण क्षमता छ। यी दमकलहरु उपत्यकाका सबै क्षेत्रमा विपद् पर्दा उपलब्ध हुने जनाइएको छ।
विपद् व्यवस्थापन, सडक पूर्वाधार र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेख्य काम गरेको ललितपुर महानगरले यसअघि नै अत्याधुनिक एम्बुलेन्स सञ्चालनमा ल्याइसकेको छ।