News Desk
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको समूहले बल्खुमा नारायणहिटी खाली गर् भन्दै विरोध प्रदर्शन गरेका छन्। उनीहरूले यतिखेर बल्खुको रिङरोडमा विरोध प्रदर्शन गरिरहेका छन्।
राजतन्त्र ब्युँताउने प्रसाईंको एजेण्डा छ। आन्दोलनकारीहरूले ‘नारायणहिटी खाली गर्,हिन्दु राष्ट्र जिन्दावाद,गणतन्त्र धोका हो,दलालहरू होसियार’ लगायत नारा लगाउँदै विरोध प्रदर्शन गर्दै छन्।
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले भने तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ। यसअघि दुवैको कार्यक्रम माइतीघर मण्डलामा तय भएको थियो। तर, झडपको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदियो।
त्यसपछि प्रसाईं नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बल्खुमा प्रदर्शन गर्दै आएको छ।