तीनकुनेमा शंकाको भरमा मानिसहरू पक्राउ 
News Desk
Nov-24 , 2023 तारिख 06:21 बेलुका

काठमाडौं । तीनकुने क्षेत्रमा प्रहरीले शंकाको भरमा मानिसहरू पक्राउ गर्न थालेको छ।  सर्चका नाउँमा घरमा बसिरहेका, बाटोमा हिँडिरहेका र होटलमा चिया खाइरहेका मानिसहरूलाई प्रदर्शनकारी हुन् कि भन्दै प्रहरीले पक्राउ गरेको हो। गणतन्त्रविरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यस क्षेत्रमा प्रदर्शन गर्ने भएपछि काठमाण्डौं प्रशासनले यो क्षेत्रमा प्रदर्शन गर्न नपाईने जनाएको थियो ।

प्रसाईं समूहले भने आफूहरूको आन्दोलन नरोकिएको र यो अभियान निरन्तर चल्ने बताएका छन्। हिजोको आन्दोलनमा करिब तीन लाख मान्छे आएको प्रसाईं पक्षको दाबी छ भने प्रहरी प्रशासनले भने करिब १० हजारको संख्यामा मात्र प्रदर्शनकारी रहेको दाबी गरेको छ।

आज ११ बजे तीनकुनेमा जम्मा हुने उद्‌घोष प्रसाईंले गरेका थिए ।  भक्तपुर ठिमीस्थित प्रसाईंको घर अगाडी समेत ठूलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ।

त्यस्तै, प्रदर्शनका लागि तोकिएको तीनकुने क्षेत्रमा ठूलो संख्यामा प्रहरी टोली खटिएको छ। बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन गरेका प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा प्रदर्शन गर्ने बताएका थिए।


 

धेरै पढिएको