News Desk
रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ।
जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो।
आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।
सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भन्ने सविन पुन र मोहन पुन मगर छन। त्यसैगरी तीनजनालाई पनि जन्मकैदको सजाय भएको छ।
उनीहरूलाई जातीय छुवाछुतको मुद्दामा दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ।
साथीहरू लिएर मल्ल थरकी प्रेमिका भगाउन रुकुमपश्चिमको सोतीगाउँ पुगेका थिए।
त्यस क्रममा सोती गाउँका गैरदलित बासिन्दाले आक्रमण गरी नवराजसहित ६ जनाको हत्या गरेका थिए। घटनामा १२ जना घाइते भएका थिए।
सोती गाउँ गएका नवराजसहित उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, लोकेन्द्र सुनार, गणेश बुढा र गोविन्द शाहीको सामूहिक हत्या गरिएको थियो। उनीहरूका शव भेरी नदीमा भेटिएका थिए। सबै शव संकलन गर्न २ साता लागेको थियो।
यसपछि नवराजका बुबा मुनलाल नेपालीले दिएको जाहेरीका आधारमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो।
तीमध्ये किशोरी (नवराजकी प्रेमिका) की आमा धरौटी र अन्य १० अभियुक्त सामान्य तारेखमा रिहा भएका थिए भने २३ जना पुर्पक्षका लागि कारागारमा थिए।
३४ अभियुक्तमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग छ भने एक जनालाई मतियार बनेको अभियोग थियो।