नेपाली कांग्रेसका उपसभापति एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाली कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताएका छन्।
आइतबार नेपाली कांग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गरे।
अहिले केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको भए पनि कांग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बताए। उनले कांग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताए।
उनले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताए। उनले भने, ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ। त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पुर्याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ। कांग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो। म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली कांग्रेसका लागि।'
उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताए।