जैविक ऊर्जा खपत एकै पटक हटाउन नसकिने गुटेरेसको टिप्पणी
News Desk
Dec-12 , 2023 तारिख 12:43 बेलुका

काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताएका छन। 

संयुक्त अरब इमिरेट्सको दुबईमा जारी विश्व जलवायु सम्मेलन (कोप-२८) सकिन २ दिन मात्र बाँकी हुँदा सोमवार सम्मेलनस्थलमा पत्रकार सम्मेलन गर्दै उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने उल्लख गरे।

सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताका विषयलाई ध्यान दिनुपर्नेमा जोड दिए।

उनले भने, ‘जलवायुको विज्ञानसँग सम्झौता नगर्न, विकासोन्मुख र अल्पविकसित देशहरुको आवश्यकतासँग सम्झौता नगरिकन हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ।’

उनले प्रत्येक देशले एनडिसीमार्फत गरेको जलवायु अनुकूलनको प्रतिबद्धतालाई समय सीमा तोकी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए।

उनले हरित गृह ज्ञ्ासको उत्सर्जनलाई घटाउन, जैविक ऊर्जाको प्रयोगलाई समयसिमा तोकी घटाउन र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्न आग्रह पनि गरे।

‘जैविक उर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गुटेरेसले जैविक ऊर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गरे।

उनले भने, ‘एकै पटक सबैले बन्द गर्ने पनि होइन। यसलाई प्रत्येक देशले विस्तारै कम गर्दै लैजाने भन्ने हो। सीमा तोकेर कम गर्दै लज्ञ्ो भने लक्ष्य हासिल हुन्छ। तर सबैले एकै पटक बन्द गर भन्ने होइन। जैविक ऊर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो। यो समय भनेको सम्झौता गर्ने समय हो। यहाँ हामीले सबै विषयमा विजयको अपेक्षा राख्नुहुँदैन।’

सम्मेलनमा जैविक ऊर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामूहिकरुपमा आफ्नो प्रतिबद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिए। 

उनले ग्लोबल स्टक टेकको प्रमुख लक्ष्य नै वातावरणलाई प्रदुषित बनाउने सबै किसिमका जैविक ऊर्जाको प्रयोगलाई घटाउनु भए पनि एकै पटक नभई समय सीमा तोकेर हटाउनुपर्ने तर्क गरे।

 

धेरै पढिएको