News Desk
लखनउ (भारत व्युरो) । विश्व मानव अधिकार दिवसको अवसर पारेर भारतको लखनउमा हालै आयोजित सम्मेलन माझ कलाकार नितु कोईराला उत्कृष्ट समाजसेवी अवार्डबाट सम्मानित भएकी छिन् । उनलाई विश्व मानव अधिकार परिषदले आइतबार सम्मान गरेको हो । सो अवसरमा परिषद अध्यक्ष एडभोकेट डा. एम आर अन्सारी, नेशनल कन्भेनर एवम् कोर कमिटी चेयर प्रसुन गोस्वामी र नेशनल एक्टिङ प्रेसिडेण्ट एवम् एडभाइजरी बोर्ड अध्यक्ष एम अनवारुल हकले अवार्ड एवम् सम्मानपत्र प्रदान गरे । त्यसैगरि परिषदले उनलाई राष्ट्रिय उपाध्यक्ष समेत बनाएको छ ।
कार्यक्रममा भारतस्थित विभिन्न राज्यबाट अधिकारकर्मीहरु सहभागी रहेका थिए । यस अघि परिषदले उनीसहित बरिष्ठ पत्रकार सरोज ओझा, गायक एवम् संगितकार विनोद ढकाल, समाजसेवी सुशिला थापालाई ‘भारत गौरव सम्मान–२०२३’ बाट सम्मान गरेको थियो ।