सचिव दुवाडीलाई देशभर भ्रमण गर्न अनुमति
News Desk
Oct-18 , 2025 तारिख 11:30 बिहान

भदौ २३ र २४ गतेका जेनजी पुस्ताको आन्दोलनसम्बन्धी घटनामा छानबिन गर्न बनेको आयोगले राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडीलाई देशभर भ्रमण गर्न अनुमति दिएको छ। शुक्रबार बसेको आयोगको बैठकले हाल राष्ट्रिय योजना आयोगका सचिव र सो समयका गृह सचिव रहेका दुवाडीलाई काठमाडौं उपत्यकाबाहिर जाने अनुमति दिने निर्णय गरेको हो।

आयोगका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार गठित समितिका संयोजकका रूपमा सचिव दुवाडीले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको क्षतिको मूल्याङ्कन गर्नुपर्ने जिम्मेवारी पाएका छन्। सातै प्रदेशमा स्थलगत अध्ययन र पुनर्निर्माण योजना तयार पार्न उनी स्वयम् उपस्थित हुनुपर्ने भएकाले आयोगले काठमाडौं उपत्यका छाड्न रोक लगाउने पुरानो निर्णयमा आंशिक फुकुवा गरेको हो।

तर, आयोगले विदेश भ्रमणमा लगाएको प्रतिबन्ध भने यथावत राख्ने निर्णय गरेको छ। आयोगको विज्ञप्तिमा भनिएको छ,
“गृह मन्त्रालयका तत्कालीन सचिवका रूपमा दुवाडीको कार्यसम्बन्धी विषय यस आयोगको अनुसन्धानको दायरामा रहेका कारण कुनै पनि समयमा बयानका लागि आयोगमा उपस्थित हुनुपर्ने हुनाले, अधिकतम सात दिनको अवधिको लागि मात्र काठमाडौं उपत्यका बाहिर जान अनुमति दिइएको हो।”

त्यसैगरी, आयोगले सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सरकारी कार्यालयहरू, उद्योग–व्यवसायिक संस्था, राजनीतिक दल, प्रदेश तथा स्थानीय तहका निकायहरू, शैक्षिक संस्था र निजी सम्पत्तिहरूमा भएको क्षतिको विस्तृत विवरण उपलब्ध गराउन समेत अनुरोध गरेको छ।