काठमाडौं महानगरपालिकाले १४ विभागीय र विविधसहित कुल १५ वटा प्रस्ताव पारित गर्दै ४३औँ कार्यपालिका बैठक सम्पन्न गरेको छ। प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा शुक्रबार बसेको बैठकमा विभिन्न विभागका कार्यगत प्रस्तावहरूमा विस्तृत छलफल गरी निर्णय गरिएको हो।
बैठकमा वातावरण व्यवस्थापन विभागले प्रस्तुत गरेका तीनवटा प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदन स्वीकृत गरिएका छन्। तीमध्ये —
वडा नं. ५, टंगालस्थित व्यवसायिक भवन निर्माण तथा सञ्चालन,
वडा नं. १, दरबारमार्गस्थित शेर्पा मल भवन निर्माण तथा सञ्चालन, र
वडा नं. १, नक्सालस्थित कुमारी बैंकको संस्थागत भवन निर्माण तथा सञ्चालनका प्रस्तावहरू स्वीकृत भएका हुन्।
प्रशासन विभागका तर्फबाट कलंकी मालपोत कार्यालयलाई १० लाख र डिल्लीबजार मालपोत कार्यालयलाई १५ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने प्रस्ताव पारित गरिएको छ। साथै, महानगर अस्पतालका लागि जग्गा लिजमा लिने सम्बन्धी जानकारी पनि बैठकमा प्रस्तुत गरिएको थियो।
सामाजिक विकास विभागका प्रस्तावअन्तर्गत बालकल्याण अधिकारी तोक्ने निर्णय र “काठमाडौं महानगरपालिका सिप तथा तालिम परिषद् स्थापना तथा सञ्चालन कार्यविधि ऐन” तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने दुई प्रस्ताव पारित भएका छन्।
स्वास्थ्य विभागतर्फबाट काठमाडौं महानगरपालिका र नेपाल एम्बुलेन्स सेवा बीचको सम्झौता नवीकरण गर्ने तथा स्वास्थ्य बीमा लागू भएका १० वटा स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा थप जनशक्ति व्यवस्थापन गर्ने प्रस्ताव स्वीकृत गरिएको छ। ती केन्द्रहरूमा एक जना मेडिकल अधिकृत, एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीको व्यवस्था गरिने निर्णय भएको छ।
कानुन तथा मानव अधिकार विभागले तयार पारेको “राष्ट्रिय सभागृह सञ्चालन निर्देशिका, २०८२” स्वीकृत गरिएको छ। त्यस्तै सूचना प्रविधि विभागका तर्फबाट सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक जनशक्ति व्यवस्थापनसम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ।
सार्वजनिक निर्माण विभागले हनुमानढोका दरबार परिसर र डबली क्षेत्रअन्तर्गत भइरहेका मर्मत कार्यहरूमा बाँकी कामको परिमाण र आवश्यकता अनुसार अन्य स्थानमा स्थानान्तरण गर्ने निर्णय अनुमोदन गरिएको छ।
अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले इन्डोनेसियामा हुने “४५औँ CITECHNET Executive Committee Meeting” मा सहभागिताका लागि वडा नं. १६ की वडाध्यक्ष रोजिना श्रेष्ठलाई मनोनयन गर्ने प्रस्ताव अनुमोदन गरेको छ।
सहरी योजना आयोग सचिवालयका तर्फबाट सुरज शाक्य र सुमन प्रधानलाई शहरी योजना आयोगका सदस्यका रूपमा नियुक्त गर्ने प्रस्ताव स्वीकृत गरिएको छ।
विविध प्रस्तावअन्तर्गत ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स खरिदका लागि जनही २२ लाख ९९ हजार रुपैयाँका दरले अनुदान सहायता उपलब्ध गराउने निर्णय गरिएको छ। साथै, यन्त्र तथा उपकरण महाशाखामा कार्यरत प्राविधिक तथा अन्य कर्मचारीलाई वार्षिक एप्रोन सुविधा वृद्धि गरी ८ हजार रुपैयाँ प्रदान गर्ने निर्णय पनि गरिएको छ।
यी सबै प्रस्ताव पारित भएसँगै काठमाडौं महानगरपालिकाको ४३औँ कार्यपालिका बैठक सफलतापूर्वक सम्पन्न भएको छ।