News Desk
काठमाडौं | बंगालको खाडीमा उत्पन्न ‘मोन्था’ नामक समुद्री चक्रवात अबको दुई दिनभित्र नेपाल प्रवेश गर्ने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विभागका अनुसार यो चक्रवात अहिले भारतको विशाखापटनम क्षेत्रमा केन्द्रित छ र क्रमशः भारतको भूभाग हुँदै नेपालतिर सर्न लागेको छ।
बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार, ‘मोन्था’ ले समुद्रबाट ठूलो मात्रामा जलवाष्प बोकेर ल्याएको हुँदा यसको प्रमुख असर कोशी र मधेस प्रदेशमा पर्ने सम्भावना छ। यी क्षेत्रमा आगामी केही दिनभित्र मुसलधारे वर्षा हुने अनुमान गरिएको छ। साथै, यसको प्रभाव बागमती र कोशी प्रदेशका हिमाली भूभागसम्म पनि फैलिन सक्ने बताइएको छ।
पराजुलीका अनुसार, चक्रवातको प्रभाव बिहीबार (कार्तिक १३) दिउँसोतिर सुरु भई शनिबार (कार्तिक १५) दिउँसोसम्म रहनेछ। सो अवधिमा हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना पनि उच्च रहेको विभागको आकलन छ।
हाल ठूला नदीहरूको बहाव सामान्य भए पनि चक्रवात सक्रिय भएपछि नदीको जलस्तर उल्लेख्य रूपमा बढ्न सक्ने चेतावनी दिइएको छ। बागमती र कोशी नदी जस्ता प्रमुख नदीहरूमा ठूलो बाढीको जोखिम रहने सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले नदी किनारका बस्तीमा बस्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मधेस र कोशी प्रदेशका चुरे तथा पहाडी भूभाग हुँदै बग्ने साना खोला–नालाहरूमा तीव्र बहाव आउने सम्भावना रहेको र कार्तिक १३ गते रातिदेखि १५ गतेसम्म विशेष सावधानी अपनाउनुपर्ने बताइएको छ।
यस्तै, विभागका प्रवक्ता विभूति पोखरेलले मंगलबारदेखि नै हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएका छन्। उनका अनुसार, हिमपातका कारण पर्वतारोहण गतिविधि र दैनिक जनजीवनमा असर पर्न सक्छ।
पोखरेलले मंगलबारको बदली अवस्था अरब सागरमा विकसित न्यूनचापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावका कारण भएको बताए। बुधबारदेखि मौसम केही सामान्य हुने भए पनि बिहीबारदेखि ‘मोन्था’ चक्रवात सक्रिय हुने भएकाले पुनः देशभर मौसम प्रभावित हुने विभागको पूर्वानुमान छ।