News Desk
काठमाडौँ | काठमाडौँ महानगरपालिकामा हालसम्म ५६ हजार ६७३ जना नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन्। तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, १ हजार ८५ जना अपाङ्गता भएका व्यक्ति र एचआइभी संक्रमित २ जना रहेका छन्।
आर्थिक वर्ष २०८१/०८२ मा महानगरपालिकाले कुल १ लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ। तीमध्ये ८४ हजार ७०४ जनाले बाह्यरोगी सेवा (ओपीडी) लिएका थिए।
गत वर्ष महानगरभित्र ३० वटा स्वास्थ्य संस्था दर्ता तथा नविकरण गरिए, जबकि १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरिएको थियो। साथै, १ हजार ८७ जनालाई विपन्न नागरिक उपचार शिफारिस दिइयो र २१० जना वेवारिसे, विपन्न तथा वेसहारालाई निःशुल्क उपचार सेवा प्रदान गरिएको थियो।
नसर्ने रोग स्क्रिनिङ् महाअभियान अन्तर्गत २६ हजार १९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। किशोरी रक्तअल्पता (एनीमिया) स्क्रिनिङ् कार्यक्रममा २ हजार ३ सय किशोरी सहभागी भए। यसै क्रममा १ हजार २२२ पिन्ट निःशुल्क रगत र रक्त तत्व वितरण गरिएको थियो।
महानगरपालिकाले वडा नं. १, ८, १०, १२, २६ र ३० मा भिडियो एक्स–रे सेवा प्रारम्भ गरेको छ। साथै, ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापना गरिएका छन्। तीमध्ये ३१ वडामा प्रयोगशाला र फिजियोथेरापी सेवा सञ्चालनमा छन्।
हाल महानगरपालिकामा एउटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, १ वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र १ अक्युपङ्चर सेवा सञ्चालनमा छन्।
यस वर्षदेखि ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले दीर्घ रोगका उपचारका लागि प्रयोग गरिने औषधिको लगत संकलन थालिएको छ। २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा निरन्तर जारी छ।
महानगरले वर्षभरि २५ वटा स्वास्थ्य शिविर सञ्चालन गरी करिब १५ हजार सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सेवा र परामर्श प्रदान गरेको छ। डेङ्गी नियन्त्रणका लागि विशेष अभियानसमेत सञ्चालन गरिएको थियो।
खोप सेवाअन्तर्गत १६ हजार १८८ जनाले खोप पाएका छन्। स्वयम्सेविका नेटवर्कमार्फत ५९ हजार ६२० जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। १० देखि १९ वर्ष उमेरका ७३ हजार ८९२ किशोर–किशोरी लक्षित पोषण कार्यक्रम सञ्चालन गरिएको छ, जसमा आयरन र फोलिक एसिड वितरण गरिएको थियो।
एक वर्षको अवधिमा १३ हजार ६६० शिशुको जन्म भएको र मातृ–शिशु स्वास्थ्य सेवा अन्तर्गत सुत्केरी आमालाई भिटामिन ए, आइरन चक्की र उत्तर–प्रसुति जाँच सेवा प्रदान गरिएको महानगरले जनाएको छ।
ओरल पोलियो खोप अभियान अन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई लक्षित कार्यक्रम सञ्चालन गरिएको थियो। २०८१ जेठ १३ देखि १९ गतेसम्म चलेको अभियानमा अनुमानित २ लाख ३६ हजार १७२ बालबालिकामध्ये २ लाख १४ हजार १६५ जना अर्थात् ९०.६८ प्रतिशतले खोप पाएका थिए।
साथै, ५ वर्षमुनिका ६६ हजार ५१९ बालबालिकामध्ये १ हजार ९९१ जना पखालाका कारण उपचारमा पुगेका थिए, जसमा १ हजार ९५६ जनाको जिङ्क र ओरल रिहाइड्रेसन थेरापी (ओआरएस) बाट उपचार गरिएको थियो।
प्रजनन उमेरका महिलाहरूका लागि गरिएको क्यान्सर परीक्षण शिविरमा ३ हजार १६ जनाको नाम दर्ता भएको थियो। तीमध्ये ६७० जनाको मेमोग्राम, ३७० जनाको स्तन परीक्षण र ५ जनाको बायोप्सी गरिएको थियो, जसमा १ जनामा क्यान्सर पाइएको थियो।
विद्यालय स्वास्थ्य कार्यक्रम अन्तर्गत कक्षा १ देखि १० सम्मका ११ हजार ६३७ विद्यार्थीको आँखा परीक्षण गरिएको थियो। नसर्ने रोग नियन्त्रणका लागि १९ हजार २७७ जनामा धूम्रपान र मद्यपान सेवनको सर्वेक्षण गरिएको थियो, जसमा ८.४ प्रतिशतले नियमित सेवन गर्ने बताएका छन्।
आर्थिक पक्षमा, २०८१/८२ का लागि महानगरपालिकाले स्वास्थ्य क्षेत्रमा ९० करोड ५१ लाख ५७ हजार ३ सय रुपैयाँ विनियोजन गरेको थियो। यसमध्ये आन्तरिक स्रोतबाट ७८ करोड २१ लाख रुपैयाँ, संघीय सरकारबाट ९ करोड ३८ लाख रुपैयाँ र प्रदेश सरकारबाट २ करोड ९१ लाख रुपैयाँ प्राप्त भएको थियो।
कुल विनियोजित रकममध्ये ६५.८६ प्रतिशत वित्तीय प्रगति भएको छ। संघीय र प्रदेश सरकारबाट प्राप्त रकमको भौतिक प्रगति शतप्रतिशत रहेको छ।
महानगरले आगामी वर्ष स्वास्थ्य बीमा विस्तार, केन्द्रीय प्रयोगशाला सञ्चालन, सेवाग्राहीको डिजिटल हेल्थ प्रोफाइल निर्माण, लिटिल डाक्टर कार्यक्रम सञ्चालन र ज्येष्ठ नागरिकका लागि घरमै आधारभूत स्वास्थ्य सेवा पुर्याउने योजना कार्यान्वयन गरिरहेको जनाएको छ।