News Desk
जनयुद्धको बलिदान सम्झँदै उनले भने, “हजारौं शहीद, घाइते र बेपत्ताहरूको बलिदानबाट बनेको हाम्रो इतिहास आज पनि जनताको आशाको प्रतीक हो। हिजो युद्धकालमा हामीलाई सघाउने, पाल्ने, र साथ दिने ती दुर्गम क्षेत्रका जनताले अहिले पनि माओवादीतर्फ भरोसा र आशाका साथ हेरेका छन् — ‘अब माओवादीले के गर्छ ?’ भनेर।”
उपरकोटीले दुःख व्यक्त गर्दै भने, “हिजो क्रान्तिमा जीवन समर्पण गर्ने हजारौं कार्यकर्ताहरू अहिले बिहान–बेलुका खानको समस्यामा छन्, जबकि अवसरवादी र गफ मात्र गर्ने केही व्यक्तिहरू पद, प्रतिष्ठा र सम्पत्तिमा उचालिएका छन्। आज पनि हजारौं इमानदार कार्यकर्ताहरू प्रचण्डको एउटा आदेशमा आत्मघाती भएर लड्न तयार छन्, तर ती कार्यकर्ताहरू नेतृत्वसम्म पुग्ने अवसरबाट टाढा छन्। यो व्यवस्थापकीय अन्याय हो।”
पार्टीभित्रका विगतका विभाजन र चुनौतीको प्रसङ्ग उठाउँदै उनले भने, “पहिले वैद्य, बादल, विप्लव अलग भए; त्यसपछि बाबुराम भट्टराईले छुट्टै बाटो रोजे। २०७० को चुनावमा पराजय, २०७४ मा एमालेसँगको तालमेल र २०७९ मा कांग्रेससँगको गठबन्धनपछि पनि माओवादीले निरन्तर चुनौतीहरू सामना गरिरहेको छ। अहिले फेरि फुटको संकेत आउनु खतरनाक चेतावनी हो।”
उनले दृढ स्वरमा भने, “अब हामीले धेरै फुट भोगिसक्यौं। यो पटक फुट्ने कसैलाई छुट छैन। छलफल गरौं, बहस गरौं, तर निषेध नगरौं। पार्टीभित्रको असन्तुष्टि मिडियामा होइन, पार्टीभित्रै स्वस्थ बहसमार्फत समाधान गरौं। असहमति संवादको माध्यमबाट मात्रै अन्त्य गर्न सकिन्छ।”
उपरकोटीले कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा नेताविरुद्ध व्यक्तिगत टिप्पणी नगर्न आग्रह गरे। उनले भने, “हाम्रो आन्दोलन सामूहिक हो। व्यक्तिगत गालीगलौज र आरोप–प्रत्यारोपले पार्टीमा दूरी र अस्वस्थता बढाउँछ। हामीले कोही फलानो, कोही ढिस्कानो भन्ने संस्कार अन्त्य गर्नुपर्छ।”
२२–२३ वर्षदेखि माओवादी आन्दोलनमा जीवन समर्पण गरेका उपरकोटीले भावुक हुँदै भने, “हामीले कहिल्यै व्यक्तिगत स्वार्थका लागि नेतृत्वसँग बार्गेनिङ गरेका छैनौं। हाम्रो चिन्ता आन्दोलन र जनताको हितमा केन्द्रित छ। क. प्रचण्ड आज पनि देशका लागि केही गर्न सक्ने इच्छाशक्ति राख्नुहुन्छ। उहाँले सबैलाई समेटेर अघि बढाउनुभयो भने माओवादी आन्दोलन फेरि बलियो रूपमा पुनर्जीवित हुनेछ।”
प्रचण्डप्रतिको सम्मान व्यक्त गर्दै उनले भने, “प्रचण्ड हाम्रा लागि केवल अध्यक्ष होइन, साझा अभिभावक हुनुहुन्छ। उहाँले सबै नेताहरू र कार्यकर्ताहरूलाई समेटेर अघि बढाउनुपर्छ। अन्य नेताहरूले पनि असन्तुष्टि मिडियामा होइन, पार्टीभित्रै छलफलमार्फत व्यक्त गर्नुपर्छ।”
अन्त्यमा उनले भावुक अपिल गर्दै भने,
“हाम्रो युवावस्था, हाम्रो जीवन, हाम्रो सपना सबै यो आन्दोलनमा अर्पण भएको छ। अबको मन्त्र हो एकता,
फुट होइन, जुटौं।संवाद होइन, निषेध होइन, सहकार्य गरौं।
जनता, शहीद परिवार, घाइते योद्धा र माओवादी कार्यकर्ताहरूले एकताबद्ध माओवादी आन्दोलन हेर्न चाहन्छन्।
पार्टी बलियो भयो भने हरेक कार्यकर्ता बलियो बन्छ — र माओवादी आन्दोलन फेरि देशको अग्रपंक्तिमा उभिनेछ।”