भारतबाट १६ जना नेपाली बालबालिकाको उद्धार गरी लगाईयो परिवारको जिम्मा
News Desk
Oct-31 , 2025 तारिख 01:18 बेलुका

भारतका विभिन्न सहरबाट उद्धार गरिएका १६ जना नेपाली बालबालिकालाई बिहिवार​ जनकपुरधाममा उनीहरूका परिवारको जिम्मा लगाइएको छ।

मधेस प्रदेशका विभिन्न जिल्लाका ती बालबालिकालाई भारतको मुम्बई, दिल्ली र बिहारका ठाउँहरूमा पुर्‍याइएको थियो। भारतीय प्रहरीको सहयोगमा ‘कीन इन्डिया’ संस्थाले उद्धार गरी मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित यादवको रोहवरमा उनीहरूलाई अभिभावकको जिम्मा लगाइएको हो।

उद्धार गरिएका बालबालिका महोत्तरी, धनुषा, सिरहा, रौतहट र सप्तरी जिल्लाका हुन। उनीहरूको उमेर ९ वर्षदेखि २२ वर्षसम्मको रहेको राष्ट्रिय बालअधिकार परिषद्, मधेस प्रदेशका समन्वय अधिकृत सञ्जीव महतोले जानकारी दिएका छन।

त्यसैगरी, ‘कीन इन्डिया’ले भारतीय प्रहरीको सहयोगमा थप दुई बालिकालाई पनि उद्धार गरी बालकल्याण समिति र बालबालिका खोज तथा उद्धार केन्द्र जनकपुरधाममार्फत उनीहरूका अभिभावकसँग पुनर्मिलन गराएको संस्थाका संयोजक नविन जोशीले जानकारी दिएका छन।