News Desk
काठमाडौं | सरकारी उदासीनता र तयारीको अभावका कारण अहिले सयौं देशी–विदेशी पर्यटक हिमाली र उच्च पहाडी जिल्लामा फसेका छन्। हरेक वर्षको अक्टोबर महिना नेपालमा पदयात्रा र भ्रमणका लागि उत्कृष्ट समय मानिन्छ। दशैं–तिहारको लामो बिदामा नेपाली र विदेशी दुवै पर्यटक हिमाल यात्रा गर्छन्। तर, यसपटक बंगालको खाडीबाट विकसित ‘मोन्था’ चक्रवातको प्रभावले हिमाली क्षेत्रमा भीषण हिमपात हुँदा परिस्थिति संकटपूर्ण बनेको छ। अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ भने सयौं अझै उद्धारको प्रतीक्षामा छन्।
गोरखाको मनास्लु क्षेत्रमा कति पर्यटक फसेका छन् भन्ने यकिन तथ्यांक प्रशासनसँग छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कमा आएका केहीको उद्धार भइरहे पनि अन्य कति मानिस अलपत्र परेका छन् भन्ने जानकारी अस्पष्ट छ। चेक गणराज्यका एक पर्यटक न्याक फेदीमा पहिरोमा परेर ज्यान गुमाएका छन् भने कम्तीमा ५० जना सम्मिलित समूह त्यही क्षेत्रमा फसेको अनुमान छ।
मनास्लु क्षेत्रकै चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले घाइते बनाएका काठमाडौं टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साललाई पनि उद्धार गर्न सकिएको छैन। खराब मौसमका कारण हेलिकप्टर परिचालनमा कठिनाइ हुँदा उनलाई अस्पताल लैजान ढिलाइ भएको हो। त्यस्तै, इटालीका तीन जना र तीन नेपाली नागरिक मनास्लु बेसक्याम्पमा फसेका छन्, जसको उद्धार प्रयास जारी छ।
मनाङ जिल्लाको नार्पाभूमि गाउँपालिका–५ मा हिमलुङ हिमाल आरोहणपछि फर्कंदै गर्दा अस्ट्रेलियाली नागरिक च्यान चेन टार्कको हिउँमा पुरिएर मृत्यु भएको छ। उहाँसँगै रहेका अन्य चार जना भने सकुशल रहे पनि खराब मौसमका कारण तिनीहरूको उद्धार अझै हुन सकेको छैन। मनाङमा फसेका पर्यटकहरूको संख्या यकिन हुन नसके पनि प्रशासनले सम्पर्कमा आएका यात्रुहरूको उद्धार जारी रहेको जनाएको छ।
मुस्ताङको हिडन भ्याली क्षेत्रमा हिउँमा अलपत्र परेका तीन विदेशी र १२ नेपाली गरी १५ जनालाई शुक्रबार उद्धार गरेर जोमसोम ल्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म हिमाली क्षेत्रमा फसेका ८०७ आन्तरिक र १२७ विदेशी पर्यटकलाई उद्धार गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले कात्तिक ११ गते दिउँसो नै हिमाली क्षेत्रमा भारी हिमपात हुने चेतावनी जारी गरेको थियो। तर, सरकारले समयमै आवश्यक सावधानी नअपनाउँदा र यात्रुहरूलाई रोक नलगाउँदा ठूलो संकट निम्तिएको हो।
हाल पनि धेरै पर्यटक हिमाली र उच्च पहाडी जिल्लामा फसेको आशंका गरिएको छ। अझै सरकारसँग पर्यटकको आगमन, गन्तव्य र यात्राको कुनै व्यवस्थित रेकर्ड प्रणाली छैन, न त कुनै स्पष्ट यात्रा सुरक्षा निर्देशिका नै लागू गरिएको छ। परिणामस्वरूप, समयमै तयारी र समन्वयको अभावले अहिले हजारौं जीवन जोखिममा परेका छन्।