जोमसोम–कागबेनी सडक अवरुद्ध, यात्रुहरुलाई सतर्कता अपनाउन आग्रह
News Desk
Nov-02 तारिख 06:20 बिहान

 अविरल वर्षाका कारण मुस्ताङको जोमसोमदेखि कागबेनीसम्मको पिच सडकको ठूलो भाग भासिएर भत्किएको छ । सोही स्थानमा माथिबाट लेदो र पहिरो समेत खसेपछि सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

सडक भासिँदा जोमसोम–कागबेनी–मुक्तिनाथ र अपर मुस्ताङतर्फको यातायात आवागमन पूर्ण रूपमा रोकिएको छ । हाल सडक मर्मत तथा पहिरो पन्छाउने कार्य प्रारम्भ गरिए पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङले यात्रु, तीर्थयात्री तथा पर्यटकहरूलाई वैकल्पिक यात्रा योजना बनाउन र अनावश्यक जोखिमपूर्ण यात्राबाट जोगिन आग्रह गरेको छ । साथै, सम्बन्धित ट्राभल एजेन्सी, होटल व्यवसायी र सवारी चालकहरूलाई समेत यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिन अनुरोध गरिएको छ ।