News Desk
गोरखा | हालै परेको बेमौसमी वर्षाले बारपाक सुलिकोट गाउँपालिकाका कृषकहरूले काटेर राखेका धानमा व्यापक क्षति पुर्याएपछि गाउँपालिकाले स्थलगत अनुगमन गर्दै क्षतिको विवरण सङ्कलन गरेको छ।
गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट स्वयं कृषकका खेतमा पुगेर क्षतिप्रभावको अवलोकन गर्नुभएको हो। उहाँले कृषि प्राविधिक, जनप्रतिनिधि तथा कृषकहरूको प्रत्यक्ष सहभागितामा धान क्षतिको विस्तृत विवरण सङ्कलन गर्न निर्देशन दिनुभएको छ।
गाउँपालिकाका प्रवक्ता शुभ प्रभात नेपाली (जित बहादुर) का अनुसार पालिकाका आठ वडामध्ये वडा नं। १ र २ (बारपाक गाउँ) मा धानखेती हुँदैन भने बाँकी वडा नं। ३, ४, ५, ६, ७ र ८ मा धानखेती मुख्य अन्नबालीका रूपमा गरिएको छ।
कात्तिक ११ गतेदेखि १६ गतेसम्म लगातार परेको वर्षाका कारण काटेर राखिएका धानमा ठुलो क्षति पुगेको प्रवक्ता नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार,
“कृषकहरूले उन्नत जातका छिट्टै पाक्ने धान रोपेका थिए, जुन तीन महिनामै पाक्ने गर्छ। तर मुखैमा आएको अन्न नष्ट हुँदा कृषकहरूलाई ठूलो आर्थिक धक्का पुगेको छ,”
नेपाल कृषि प्रधान देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको प्रत्यक्ष मारमा किसानहरू परिरहेको उल्लेख गर्दै प्रवक्ता नेपालीले थप्नुभयो, “हाम्रो देशका श्रमजिवी कृषकहरूले माटोमा पसिना बगाएर देश चलाइरहेका छन्, तर राज्यको प्राथमिकतामा उनीहरूको समस्या अझै पनि उपेक्षित छ।”
प्रवक्ता नेपालीले संघीय र प्रदेश सरकारसमक्ष स्थानीय तहका पहललाई समर्थन गर्न तथा राहतको व्यवस्था तत्काल गर्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “गाउँपालिकाले क्षतिको विवरण संकलन गरी माथिल्लो निकायमा पठाउनेछ। प्रदेश र संघीय सरकारले स्थानीय तहका तथ्यांकका आधारमा राहत प्याकेज घोषणा गर्न आवश्यक छ।”
गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्ट, कृषि प्राविधिक तथा प्रवक्ता शुभ प्रभात (जित बहादुर) नेपाली लगायतको टोलीले प्रत्येक किसानको खेतमा पुगेर बेमौसमी वर्षाबाट क्षतिग्रस्त धानको अवलोकन र विवरण संकलन कार्य निरन्तर जारी राखेको गाउँपालिकाले जनाएको छ।
प्रवक्ता नेपालीले विपद्को समयमा किसानको पक्षमा अग्रसर हुने कदम चालेको भन्दै अन्य स्थानीय तहहरूलाई पनि यसैगरी पहलकदमी र दबाब सिर्जना गर्न आग्रह गर्नुभएको छ।