News Desk
माथिल्लो मुस्ताङमा अवस्थित ‘छुआमा’ हिमाल पहिलोपटक सफलतापूर्वक आरोहण गरिएको छ। दक्षिण कोरियाका तीन नागरिकसहित आठ सदस्यीय टोलीले नोभेम्बर २ तारिखका दिन ६,२१३ मिटर अग्लो ‘छुआमा’ हिमालमा सफल आरोहण गरेको अन्नपूर्ण संरक्षण आयोजना (ACAP) लोमान्थाङ कार्यालयले जनाएको छ।
लोमान्थाङ गाउँपालिका–४ नाम्डो गाउँबाट सुरु गरिएको यो आरोहण ५,४८० मिटर उचाइको आधार शिविर हुँदै सम्पन्न भएको हो। टोलीमा दक्षिण कोरियाका आरोही डोङजिन, नाम्योङ, र ह्निचुलसहित पाँच जना नेपाली गाइड र सहायकहरू सहभागी थिए। एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार, यो टोलीले उपल्लो मुस्ताङ क्षेत्रमा रहेका तीनवटा ‘छुआमा’ शिखरमध्ये तेस्रो शिखरमा सफल आरोहण गरेको हो।
नोभेम्बर २ तारिख बिहान २ बजे आधार शिविरबाट प्रस्थान गरेको टोली करिब १० घण्टापछि शिखरमा पुगेको थियो। यससँगै माथिल्लो मुस्ताङ क्षेत्रको इतिहासमा पहिलोपटक विदेशी टोलीद्वारा ‘छुआमा’ हिमालको आरोहण सम्पन्न भएको एक्यापले जनाएको छ।
यसअघि अक्टोबर १८ तारिखमा ‘ट्रेकिङ क्याम्प नेपाल’ का प्रतिनिधिहरूले पर्वतारोहण मार्गको स्थलगत अध्ययन र तयारी गरेका थिए। आरोहण सफलतापूर्वक सम्पन्न भएपछि कोरियाली नागरिकसहितको टोलीलाई एक्याप लोमान्थाङले खादा लगाएर सम्मान गरेको छ।
एक्यापका प्रमुख पौडेलका अनुसार, छुआमा हिमालको पहिलो सफल आरोहणले माथिल्लो मुस्ताङ क्षेत्रको हिमाली पर्यटन, पर्वतारोहण र अन्तर्राष्ट्रिय आकर्षण वृद्धिमा ऐतिहासिक योगदान पुर्याउने विश्वास गरिएको छ। यो आरोहणले स्थानीय पर्यटन व्यवसायमा नयाँ सम्भावनाको ढोका खोलेको बताइएको छ।