News Desk
काठमाडौँ | माछापोखरी क्षेत्रबाट दुई बालिका बेपत्ता भएका छन्। बालिका शिखा गुरुङ र सिष्टी गुरुङ मंगलबार राति करिब ८ बजेपछि सम्पर्कविहीन बनेका हुन्। उनीहरू हालसम्म घर नफर्किएकाले अभिभावकले बालाजु प्रहरी वृत्तमा खोजतलासका लागि निवेदन दर्ता गरेका छन्।
निवेदक सविता गुरुङका अनुसार बेपत्ता बालिका शिखा गुरुङ १४ वर्षकी छन्। उनी गोरो वर्णकी रही पिङ रंगको टिसर्ट, कालो पाइन्ट र कालो हिल जुत्ता लगाएकी थिइन्। त्यस्तै, १३ वर्षीया सिष्टी गुरुङ रातो वर्णकी रही खैरो पाइन्ट, कलेची रंगको टिसर्ट र कालो जुत्ता लगाएकी थिइन्।
अन्तिम पटक दुवैलाई माछापोखरी नजिकै देखिएको बताइएको छ। परिवारका अनुसार त्यसपछि उनीहरूको फोन सम्पर्क पनि टुटेको छ। बेपत्ता भएका बालिकाको खोजतलासका लागि प्रहरीको सहयोग माग्दै सविता गुरुङले बालाजु प्रहरी वृत्तमा औपचारिक निवेदन दर्ता गरेकी छन्।
प्रहरीले बालिकाको खोजी कार्य प्रारम्भ गरेको जनाएको छ। सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई दुवै बालिका भेटिए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरिएको छ।