प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच शिष्टाचार भेटवार्ता 
News Desk
Nov-06 , 2025 तारिख 12:11 बेलुका

प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटमा दुबै बीच आगामी निर्वाचनको तयारी, राजनीतिक वातावरण र समसामयिक विषयमा विस्तृत कुराकानी भएको थियो।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनको भावना र जनअपेक्षाअनुसार मुलुकमा सुशासन स्थापना गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले निर्वाचनलाई स्थायी लोकतान्त्रिक प्रक्रियातर्फको महत्वपूर्ण कदमका रूपमा लिँदै सबै पक्षको सहकार्य अपेक्षा गर्नुभयो।

पूर्वराष्ट्रपति यादवले पनि सबै राजनीतिक दलहरू आगामी निर्वाचनमा सहभागी हुनुपर्ने र कोही पनि त्यसबाट पन्छिन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले सरकारको तयारी र संवादको प्रयासको प्रशंसा गर्दै, लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन चुनाव नै सर्वोत्तम विकल्प भएको उल्लेख गर्नुभयो।

यादवले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा गठन भएको सरकारबाट सफलतापूर्वक निर्वाचन सम्पन्न भएको स्मरण गर्दै यसपटक पनि त्यसैगरी सबै दलको सहभागितामा चुनाव हुनेमा विश्वास व्यक्त गर्नुभयो।

भेटवार्तामा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतका मन्त्रीहरूको पनि उपस्थिति रहेको थियो।

यसअघि, हिजो गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति यादवको ललितपुरस्थित निवासमा पुगेर चुनावी तयारीका विषयमा भेटवार्ता गर्नुभएको थियो।

सरकारले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई सफल बनाउन विभिन्न राजनीतिक दल र सरोकारवाला निकायहरूसँग संवाद र समन्वय तीव्र गतिमा अघि बढाइरहेको छ।