जेन–जी अगुवाहरूको भनाइ : निर्वाचनको विकल्प छैन, सुधार नगर्ने दललाई जनताले विदा गर्नेछन्
News Desk
Nov-12 , 2025 तारिख 12:15 बेलुका

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाइरहेका बेला जेन–जी (Gen-Z) अभियानका युवा अगुवाहरूले आगामी निर्वाचन नै मुलुकको गतिरोध अन्त्य गर्ने एकमात्र उपाय भएको बताएका छन्। उनीहरूले भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको दिशा निर्वाचनबाटै प्रशस्त हुने बताएका छन्।

जेन–जी अभियन्ता भावना राउतका अनुसार आन्दोलनपछि पनि राजनीतिक दलहरूमा सुधारको संकेत नदेखिँदा नयाँ पुस्ता निराश बनेको छ। उनले संविधानको रक्षा गर्दै देशलाई स्थायित्व र सुशासनतर्फ अघि बढाउन सबैले एकजुट हुनुपर्नेमा जोड दिइन्।

राउतले अघिल्ला पुस्ताले लोकतान्त्रिक उपलब्धि दिलाए पनि अहिलेका नेताहरूले युवालाई फेरि सडकमा उत्रन बाध्य बनाएको आरोप लगाइन्। उनले सुधार नगर्ने राजनीतिक शक्तिहरूलाई जनताले आगामी निर्वाचनबाट विदा गर्ने चेतावनी दिइन्।

त्यस्तै, उनले आन्दोलनका क्रममा भएको दमनका घटनाहरूको छानबिन गर्न र दोषीहरूलाई कानूनी कारबाहीमा ल्याउन माग गरिन्।

अभियन्ता युजन राजभण्डारीले अन्तरिम सरकारले आन्दोलनको म्यान्डेटअनुसार पारदर्शी र जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए। उनका अनुसार आन्दोलनको पहिलो चरण सकिए पनि फागुन २१ सम्म आन्दोलन निरन्तर रहने भएकाले सरकारले “दायाँ–वायाँ गर्ने” अवसर पाउने छैन।

अर्का अभियन्ता मिराज ढुंगानाले आन्दोलन २०८४ को निर्वाचन २०८२ मा सार्ने मात्र होइन, सम्पूर्ण राजनीतिक प्रणालीमा सुधार ल्याउने लक्ष्यसहित गरिएको बताए। अन्तरिम सरकारको दुई महिनाको कार्यशैलीबारे भने सहभागी युवाहरूबीच मिश्रित प्रतिक्रिया देखिएको छ।