News Desk
काठमाडौं । ‘जेन–जी मुभमेन्ट’ले ऊर्जामन्त्री कुलमान घिसिङलाई पदबाट तत्काल हटाउन सरकारसँग कडा माग गरेको छ। आन्दोलनका अगुवाहरूले भारतको पीटीसी इन्डियासँग गरिएको विद्युत खरिद–बिक्री सम्झौतामा ४३ करोड रुपैयाँ बराबरको घाटा भएको दाबी गर्दै घिसिङमाथि राष्ट्रघातको आरोप लगाएका छन्।
मुभमेन्टका प्रवक्ता विजय साहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तुरुन्त बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गर्नुपर्छ।” विज्ञप्तिमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवाललाई पनि तत्काल निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गत छानबिन सुरु गर्न माग गरिएको छ।
साहका अनुसार विद्युत नियमन आयोगले स्वतन्त्र अनुसन्धान समिति गठन गरी हालसम्म भएका सबै विद्युत सम्झौताहरू सार्वजनिक गर्न आवश्यक छ।
मुभमेन्टले राष्ट्रहित विपरीत सम्झौता गर्ने वा स्वीकृति दिने सबै अधिकारीलाई कानूनी दायरामा ल्याउन र राज्यको सम्पत्ति फिर्ता गराउन सरकारलाई चेतावनी दिएको छ। आन्दोलनले छिट्टै थप आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ।