कृषि पेशामा संलग्न र निरक्षर अभिभावकका सन्तानले लोकसेवा आयोगमा गरे सफलता हासिल
News Desk
Nov-13 , 2025 तारिख 12:09 बेलुका

काठमाडौं, कार्तिक २७ |लोकसेवा आयोगले सार्वजनिक गरेको ६६औँ वार्षिक प्रतिवेदन (साउन २०८१ देखि असार २०८२ सम्म) अनुसार, कृषि पेशामा संलग्न र शैक्षिक रूपमा कमजोर अभिभावकका सन्तानहरूले उल्लेखनीय रूपमा लोकसेवा परीक्षामा सफलता हासिल गरेका छन्।

प्रतिवेदनका तथ्यांकअनुसार सिफारिस भएका उम्मेदवारका आमा मध्ये ३३ प्रतिशत र बुबा मध्ये १६ प्रतिशत निरक्षर रहेका छन्। त्यस्तै, ४१ प्रतिशत उम्मेदवारका बुबाले र ४८ प्रतिशत आमाले प्राथमिक तहसम्मको शिक्षा मात्र हासिल गरेका छन्। उच्च शिक्षा प्राप्त अभिभावकको संख्या भने तुलनात्मक रूपमा कम देखिएको छ — सिफारिस भएका उम्मेदवारका २० प्रतिशत बुबा र १६ प्रतिशत आमा मात्र उच्च शिक्षित रहेका छन्।

अभिभावकको पेशागत पृष्ठभूमि हेर्दा सबैभन्दा बढी कृषि क्षेत्रमै संलग्न रहेका सन्तानहरू सफल देखिएका छन्। आयोगको अनलाइन दरखास्त प्रणालीका विवरणअनुसार, सिफारिस भएका ६७.१७ प्रतिशत उम्मेदवारका अभिभावकको मुख्य पेशा कृषि रहेको छ।

त्यस्तै, सरकारी सेवामा कार्यरत अभिभावकका सन्तानको हिस्सा १७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
व्यवसायगत पृष्ठभूमिमा हेर्दा, सिफारिस भएका उम्मेदवारका अभिभावकमध्ये करिब ९ प्रतिशत व्यापार, ३ प्रतिशत श्रम, २.३१ प्रतिशत शिक्षण र ०.८५ प्रतिशत व्यवसाय (उद्यमशीलता) क्षेत्रमा संलग्न रहेको पाइएको छ।

 ग्रामीण पृष्ठभूमिका, विशेषतः कृषि पेशा र सीमित शिक्षाले सिम्तिएका परिवारका सन्तानहरू आज पनि आफ्नो परिश्रम, लगनशीलता र आत्मविश्वासका माध्यमबाट राष्ट्रसेवामा अग्रसर हुन सफल भइरहेका छन्।