News Desk
ललितपुर । लागू औषध दुरुपयोग समाजको क्यान्सर सरह भयावह समस्या बन्दै गइरहेका बेला यसको नियन्त्रणका लागि समाज, राष्ट्र र विश्वलाई नै लागू पदार्थ मुक्त बनाउन सबै पक्ष एकजुट हुनु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको आयोजनामा तथा गोदावरी नगरपालिका ३ नं. वडा कार्यालयको सहकार्यमा ललितपुरमा भएको ‘ लागू औषध न्यूनिकरणमा पत्रकारको भूमिका ’ विषयक कार्यक्रममा वक्ताहरूले पत्रकारितालाई प्रभावकारी अभियानका रूपमा अघि बढाउनु पर्ने धारणा राखे । उक्त कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष राज घिमिरेले लागू औषध समाजको प्रमुख शत्रु भएको उल्लेख गर्दै यसको कारोबार र सेवन दुवैलाई निरुत्साहित गर्न पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । ‘पत्रकार महासंघ ललितपुर शाखा र गोदावरी नगरपालिका वडा नम्बर -३ बीच समन्वयमा सकारात्मक रचनात्मक काम भइरहेको छ’, घिमिरेले भने,‘देशमा विद्यालयभन्दा सुधार केन्द्र बढी खुल्ने अवस्था आउन नदिन लागू औषध विरुद्ध पत्रकारिताबाट जनचेतना अभिवृद्धि गर्दै समाजलाई अगाडि बढाउन आवश्यक छ । यो विषय सामान्य जस्तो देखिए पनि अत्यन्त जटिल छ ।’
यसैगरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशीले लागू औषध दुरुपयोगलाई समाज विरुद्धको अपराधका रूपमा चित्रण गर्दै यसको नियन्त्रण प्रत्येक नागरिकको सामाजिक दायित्व भएको बताए । जोशीका अनुसार परिवारमा अभिभावकले समय दिन नसक्नु, साथीहरूको गलत संगत तथा व्यस्त जीवनशैलीका कारण युवापुस्ता कुलतमा फस्ने गरेको छ । ‘लागू औषध विरुद्धको अभियान हरेक घरबाट शुरु हुनु पर्छ’, जोशीले भने,‘प्रत्येक व्यक्तिमा लागू औषधप्रति वितृष्णा जगाउने गतिविधि आवश्यक छ । यसको नियन्त्रणका लागि सबैको संयुक्त पहल अपरिहार्य छ ।’
त्यस्तै, नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशका कोषाध्यक्ष सञ्जिप शुभचिन्तकले पत्रकारहरूले लागू औषध दुरुपयोग विरुद्ध समाजलाई प्रभावकारी रूपमा सचेत बनाउन विशेष प्राथमिकताका साथ सामग्री प्रकाशन गर्नु पर्नेमा जोड दिए । त्यसैगरी, नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका अध्यक्ष रामहरि कार्कीले युवा लागू औषधको चपेटामा पर्दा परिवार, समुदाय, समाज र राष्ट्रले ठूलो क्षति बेहोर्नु परेको बताउँदै यसको न्यूनीकरणका लागि पत्रकारिताले राज्यलाई जिम्मेवार बनाउने तथा समाजलाई सचेत बनाउने अभियान निरन्तर चलाउनु पर्ने आवश्यकता औंल्याए । उक्त कार्यक्रममा सहभागी सरोकारवालाहरूले लागू औषध दुरुपयोगको बढ्दो समस्यालाई रोक्न सबैको सहयोग, प्रभावकारी सूचना प्रवाह र सामुदायिक नेतृत्वको सक्रियता अपरिहार्य रहेको निष्कर्षसमेत निकालेका छन् ।
